×

एउटै सवारी साधनमा विपरीत लिङ्गीलाई बस्न निषेध

images


इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । 

    पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी साधन र सार्वजनिक स्थानमा अलग्गै बस्न आदेश दिएका हुन् । स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । 

    एकान्त, सार्वजनिक र सवारी साधानमा विवाह नगरेका नारीपुरुष बस्न नपाइने परिपत्र गत साता जारी गरिएको हो । 

    दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयासस्वरुप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताएका छन् । इस्लामिक धर्मगुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले स्पष्ट गरेका छन् । 

    सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित आचे इस्लामिक कानून लागू गर्ने विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुस्लिम बहुल देशको एक मात्र प्रान्त हो । व्यापक आलोचनाको बाबजुद उक्त आदेश कार्यान्वयनको प्रयास भएको छ । जकार्ताले दिएको व्यापक स्वायत्तताअन्तर्गत शरिया कानुन भएको आचेमा जुवा खेल्ने, मदिरा सेवन गर्ने र विवाह बाहिर पनि सम्बन्ध राख्नेलगायतका अपराधमा  सार्वजनिकरूपमा कोर्रा हानिन्छ । 

बिहीबार २५ साउन २०८० ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया