×

भूमध्यसागरमा डुङ्गा दुर्घटनामा एकचालिस जनाको मृत्यु भएको आशङ्का

images


भूमध्यसागरमा गत साता आप्रवासी चढेको डुङ्गा दुर्घटनामा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । 
 
संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बुधबार इटालियन टापु लाम्पेडुसामा ल्याइएका चार जीवित व्यक्तिलाई उद्धृत गर्दै बताएअनुसार ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट प्रस्थान गरेपछि शुक्रबारको प्रतिकूल मौसममा उनीहरू सवार धातुको डुङ्गा डुबेको शरणार्थी, बालबालिका र आप्रवासनका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । 

उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानीजहाजमार्फत उद्धार गरेर बुधबार इटालीका तटरक्षकले लाम्पेडुसामा ल्याइएको थियो । लाम्पेडुसामा आप्रवासीलाई मानवीय सहयोग गर्दै आएको इटालीको रेडक्रसले उद्धार गरिएका चारैजनाको स्वास्थ्य सामान्य रहेको बताएको छ । उनीहरू आइभरी कोस्ट र गिनीबाट आएका थिए ।  

ट्युनिसियाको स्फ्याक्सस्थित सरकारी वकिलको कार्यालयले आप्रवासीहरूलाई अवैध रूपमा समुद्री सीमा पार गर्न सघाउनेका बारेमा अनुसन्धान सुरु गरिरहेको बताएको छ । यसअघि सोही कार्यालयलका अधिकारीहरूले सोमबार ट्युनिसिया र पश्चिमी सहाराको तटमा १६ जना आप्रवासीको मृत्यु भएको बताएका थिए ।

बिहीबार २५ साउन २०८० ०२:४८ PM मा प्रकाशित

प्रतिक्रिया