×

बजेट सुनिश्चित नभएसम्म निजगढमा एउटा रुख पनि काट्न दिइन्न : मन्त्री यादव

images

वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगिया बस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख काट्न मन्त्रालयबाट अनुमति दिइने बताउनुभएको छ ।

सामुदायिक वन दिवस २०७९ का अवसरमा आज बुधवार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बजेटको सुनिश्चितता नहुँदासम्म निगजढमा एउटा रुख पनि काट्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थल निर्माणका नाममा वन विनाश गर्न दिइने छैन, सम्माननीय अदालतलाई म धन्यवाद दिन चाहन्छु, रुख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने । यस्तो षड्यन्त्र हुन दिन्न ।’

निजगढ विमानस्थल निर्माणका लागि मन्त्रालय सधैँ सकारात्मक रहेकाले सबैभन्दा पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको झन्डै पाँच सय हेक्टर जमिन खाली हुनुपर्ने र बजेटको सुनिश्चितता हुनुपर्ने उहाँको भनाइ छ । मन्त्री यादवले वन माफियालाई तह लगाउनका लागि आफु जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा बोल्दै मन्त्री यादवले सामुदायिक वनका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य वृद्धि हुनुका साथै वन विकासमा ठूलो योगदान पुगेको बताउनुभयो । वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियती वन, निजी वनहरूले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको उहाँको भनाइ छ । 

मन्त्री यादवले केही षड्यन्त्रकारीहरूले वनको जग्गा सुकम्वासीका नाममा कब्जा गर्ने, अतिक्रमण गर्ने, वन जङ्गल मास्ने, फडानी गर्ने काम गरिरहेकले त्यसरी कब्जा गरिएका जग्गा खाली गराएरै छोड्ने दाबी पनि गर्नुभयो । 

बुधबार २५ साउन २०७९ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया