×

पाकिस्तान ईशनिन्दाको आरोप लागेका हिन्दू प्राध्यापकलाई आजीवन कारावास

images

पाकिस्तानको सिन्ध प्रान्तस्थित एक अदालतले पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा एक हिन्दू प्राध्यापकलाई आजीवन कारावास र जरिवानाको सजाय दिएको छ । 


आरोपितका नातेदारले यस फैसलालाई उच्च अदालतमा चुनौती दिने बताएका छन् । 


सिन्धमा हिन्दू नागरिकलाई ईशनिन्दाको आरोपमा सजाय दिइएको यो पहिलो घटना हो । 

अदालतको लिखित फैसलामा उल्लेख गरिएअनुसार, वादी अब्दुल अजीज खानले घोटकी थानामा उजुरी दिएका थिए । खानले उजुरीमा लेखे, ‘मेरो छोरो एक सरकारी विद्यालयमा पढ्छन् । विद्यालयका प्रधानाध्यापक नूतन लाल कक्षामा आए अनि पैगम्बर मोहम्मदको अपमान गरे भनी छोरोले बतायो ।


छोरोले दुई प्रत्यक्षदर्शी मोहम्मद नवेद र वकास अहमदको उपस्थितिमा यो कुरा भने । 

एडिसनल सेसन जज मुमताज सोलंकीले फैसलामा लेखे, ‘अभियोजन पक्षले प्रस्तुत गरेको गवाह स्वतन्त्र र विश्वसनीय छ र उनीहरूको बयान दुर्भावनापूर्ण छैन ।’

अदालतका अनुसार, अभियोजन पक्षले आरोपित नूतनविरुद्ध आरोप साबित गर्न सफलता पाएको छ । त्यसैले उनलाई आजीवन कारावास र ५० हजार रुपैयाँ जरिवाना लगाइनेछ । जरिवाना तिर्न नसकेमा चार महिना थप कैद सजाय दिइनेछ । सजाय पक्राउ परेको दिनदेखि लागू हुनेछ । 

नूतनका नातेदार महेश कुमारले यस फैसलाबाट आफूहरूलाई अन्याय भएको र दबाबमा लिइएको फैसला भएको बताए । 

घटनामा प्रत्यक्षदर्शी नभएको, सुनेको आधारमा बयान दिइएको उनको भनाइ छ । 

घोटकीमा हिन्दू समुदाय डर र दबाबमा रहेको महेश बताउँछन् । मुद्दाको पैरवी गराउन गाह्रो परिरहेको उनले बताए । यसविरुद्ध उच्च अदालतमा नालिस दिने पनि उनले जानकारी दिए । 

बिहीबार २७ माघ २०७८ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया