×

एक गाग्री पानी भर्न एक घण्टा

images

देउखुरी :  ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ घोराही उपमहानगरपालिका–१९ खोलीगाउँका महिलाको  । एक गाग्री पानी लिन हरेक दिन उकालो–ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरुको बिहानभरको समय त्यतै बित्ने गरेको छ ।

एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन् । घोराही बजारबाट बढीमा नौ किलोमिटरको दूरीमा रहेको विकट क्षेत्र खोलीगाउँ पानी नपाएर छट्पटिएको छ  । सहजरूपमा पानी पाउन सकिँदैन । “सानो धारो आउँछ, दुई दिनमा एक दिनमात्रै पानी आउँछ । एक दिन पानीको जोहो गर्न सकिएन भने खानेपानीको समस्या हुन्छ”, खोलीगाँउकी लक्ष्मी घर्तीले भन्नुभयो । पानी नुहँदा बालबालिकाले नुहाउन पाएका छैनन््, सरसफाइमा  पनि बाधा पुगेको छ । गाईवस्तुलाई खुवाउनु र तरकारी खेती गर्नु परको कुरा भएको छ । व्यवस्था फेरिए पनि अवस्था फेरिएको छैन । गाउँवासीले डोकोमा एक घण्टा ठाडो उकालोबाट पानी बोकेरै दैनिक गजारा चलाउनु परेको उहाँले बताउनुभयो ।

सिमको सङ्कलित पानीले यहाँका गाउँलेले दैनिक गुजारा गर्दै आएका छन् । एक गाग्री पानी भर्न एक घण्टा लाग्छ । त्यहाँ खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा र सहज बाटोघाटो  पनि छैन । “गाउँमा विद्यालय छैन, बालबालिकालाई सहजरूपमा विद्यालय पठाउन कठिन छ”, स्थानीय विपना पुन मगरले भन्नुभयो । पानी आाउन छाड्यो भने मुहानसम्म पुग्नै एक दिन लाग्छ । जसोतसो ल्याएको पानी मुस्किलले तीन घण्टा आउँछ  तर त्यो पानी पनि आलोपालो भर्नुपर्ने बाध्यता छ ।

गाउँमा पानीको पीडा भोग्दै आएका यहाँका धेरै बासिन्दाकोे दैनिक गुजाराका लागि पानीकै समस्या  छ । वर्षौँदेखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै कति नाम्लोका डोरी चुडिए, कति डोका फाटे तर पानी सहज हुनसकेको छैन । एक गाग्री पानी लिएर घर पुग्दा सबैलाई ठूलै युद्ध जितेजस्तै हुन्छ ।  खोली गाउँका सुकमती पुन गरुले तीन घण्टा समय खर्चेर गाग्रीमा पानी लिएर आउने गरेको बताउनुभयो । खोलीगाउँका सबैले पुस्तौँदेखि खानेपानीका लागि यसरी नै सङ्घर्ष गर्दै आएका छन् । घरमा साना नानी छन्, घरको काम हतारहतार सकेर पानी लिन धारोमा पुग्नुपर्छ । ढिलो गयो भने धारो सुक्छ, दुई दिनसम्म पानी भर्न पाइँदैन ।

स्थानीयवासीले जनश्रमदान गरेर बनाएको पानीको स्रोत विसं २०७२ को भूकम्पले धक्का दिएपछि  मूलबाट पानी आउन छोडेको छ । बिहान–बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको छ । पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौँ त्यो गर्छौँ भने पनि आफूहरुले कतैबाट सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।

पानी नभएकै कारण महिनौँ दिनसम्म नुहाउन पनि नपाएको त्यहाँका बासिन्दाले बताए । यस क्षेत्र सदियौँदेखि बसेको बस्ती हो । यहाँको आयआर्जनको स्रोत खास केही छैन । अन्न बाली लगाए जङ्गली जनावरले सखाप पारिदिन्छ । अदुवा, बेसार मुस्किलले उब्जन्छ । त्यही बेचेर चामल किनेर खानुपर्ने अवस्था रहेको अर्का स्थानीयवासी देवबहादुर पुनले बताउनुभयो । बलिया र जवान युवामध्ये कोही कामको खोजीमा सहर पसेका छन्  भने कोही भारत पुगेका छन् । उनीहरुले कमाएर पठाउने पैसाले खाने, बालबच्चा तथा परिवारको लालनपालन, शिक्षादिक्षा, उपचार खर्च चलाउने गरिएको र अन्य आधारभूत सुविधा नपाएको स्थानीयवासीको दुःखेसो थियो ।

घर खर्च चलाउन आफूहरूले पालेका कुखुरा तथा बाख्रापाठाले घरको गर्जो टार्नुपरेको छ । बालबालिका बिरामी परे घोराहीबजार झर्नुपर्ने अवस्था  छ । वडा कार्यालयले सैघामा स्वास्थ्य संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा दिए पनि त्यहाँ पुग्न पनि  तीन घण्टा लाग्ने गरेको गाउँलेको भनाइ थियो ।

घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष हर्कबहादुर घर्तीले नागरिकको आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै लगिएको बताउनुभयो । पानीका लागि पाइप ल्याएको छ तर त्यसलाई व्यवस्थित गर्न बाँकी छ, सबैलाई सहजरूपमा सेवा दिन भूगोल र बजेट बाधक रहेको उहाँको भनाइ थियो । विकासका काम विस्तारै हुने भएकाले केही समय लागेको हो, उहाँले भन्नुभयो ।
––––

बिहीबार २७ माघ २०७८ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया