×

नबिल बैंकको ४२औँ साधारण सभा सम्पन्न, १५.८० प्रतिशत लाभांश पारित

images

 

काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सफलतापूर्वक सम्पन्न भएको छ। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न उक्त सभाले सेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
 

पारित लाभांशमध्ये आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) रहेको छ। यसका साथै सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि ८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पनि स्वीकृति दिएको छ। प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ, जुन बैंक स्थापना कालको तुलनामा ९६० गुणाको वृद्धि हो। 

वित्तीय अवस्था बलियो, खुद नाफा ७ अर्ब ९१ करोड

आर्थिक वर्ष २०८२/८३ मा नबिल बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२.१५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल वासलातको आकार पनि १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। [1]

तीन सञ्चालक निर्विरोध निर्वाचित

साधारण सभाले संस्थापक सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि र सरोकारवालाहरूको हितलाई सधैँ केन्द्रमा राखेर आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको र सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै सक्रिय रहेको बताए। 

'सन् २०३० सम्म एआई रेडी बैंक बन्ने लक्ष्य'

विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको नबिल बैंकले दिगो बैंकिङ र डिजिटल रूपान्तरणका लागि 'एनबैंक' सञ्चालनमा ल्याएको छ। बैंकले सन् २०३० सम्ममा पूर्ण रूपमा 'एआई रेडी बैंक' बन्ने दीर्घकालीन रणनीति तय गरेको जानकारी दिएको छ। साथै, बैंकले आफ्नो यात्रालाई '५ टी' अर्थात् ट्रस्ट (विश्वास), ट्रान्सपरेन्सी (पारदर्शिता), ट्यालेन्ट (प्रतिभा), टेक्नोलोजी (प्रविधि) र ट्रान्सफरमेसन (रूपान्तरण) को अवधारणामा अघि बढाएको छ।

मौलिक सांस्कृतिक नृत्य प्रस्तुतिसहित सुरु भएको साधारण सभा समयमै भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सेयरधनी, ग्राहक, कर्मचारी तथा नियामक निकायहरू प्रति बैंकले हार्दिक आभार प्रकट गरेको छ। हाल नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ। 

शुक्रबार​ २३ असोज २०८३ ०८:४२ AM मा प्रकाशित

प्रतिक्रिया