×

कांग्रेसलाई रूपान्तरण गरेर नयाँ बनाउन आवश्यक छ : विश्वप्रकाश शर्मा

images

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई रूपान्तरण गरेर नयाँ बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रवार सुन्दरीजलमा नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यकता रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नवीन बन्नुपर्छ । यसको रूपान्तरण गर्न जरुरी छ । रूपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नवीनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नवीनता पनि अघि बढाउनुपर्छ ।’

महामन्त्री शर्माले कांग्रेसलाई एकातिर बदलिएको बलियो कांग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकूलताको बीचमा बलियो दलको रूपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । पाँच वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने उहाँको भनाइ छ । 

महामन्त्री शर्माले नेपाली कांग्रेस उज्यालो अनुहार बनाएर मङ्सिर ४ गते पार्टीलाई बलियो दलको रूपमा, बहुमत लक्षित दलको रूपमा स्थापित गर्न अग्रसर हुने बताउनुभयो । उहाँले नेपाली कांग्रेसले २१ औँ शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको सुरुवात हुने घोषणा गर्नुभयो ।

महामन्त्री शर्माले नेपाल अहिले श्रीलङ्काको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलङ्काको बाटोमा छ भन्नु भ्रमबाहेक अरू नभएको जिकिर गर्नुभयो । उहाँले ठूलो योजना अघि बढाउँदै गर्दा ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? भन्ने प्रश्न उठ्नसक्ने भन्दै बुद्धिमतापूर्वक काम गर्नुपर्ने बेला भएको पनि बताउनुभयो । 

शुक्रबार​ २४ भदौ २०७९ ०२:१६ PM मा प्रकाशित

प्रतिक्रिया