×

उत्तर काेरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घाेषणा गर्‍याे

images

उत्तर काेरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घाेषणा गरेकाे छ । यसका लागि उत्तर काेरियाले एक कानुन पास गरेकाे बीबीसीले जनाएकाे छ । उत्तर काेरियाकाे सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएकाे खबरमा उल्लेख छ । 

उत्तर कोरियाका राष्ट्रपति किम जाेङ उनले याे घाेषणामा कुनै परिवर्तन नहुने बताउनुभएकाे छ । उहाँले यसबारेमा कुनै पनि स्तरकाे वार्ताकाे सम्भावना नहुने पनि बताउनुभएकाे बीबीसीले जनाएकाे छ । 

यस कानुनका अनुसार उत्तर काेरियालाई आफ्नाे रक्षाका लागि परमाणु हतियार प्रयाेग गर्ने अधिकार हुनेछ । विभिन्न प्रतिबन्धका बाबजुद उत्तर काेरियाले सन् २००६ र २०१७ काे बीचमा ६ परमाणु परीक्षण गरेकाे छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्काे कैयाैँ प्रस्तावकाे बाबजुद उत्तर काेरियाले आफ्नाे सैन्य क्षमता बढाएकाे छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जाेङकाे दुई पटक शिखर वार्ता भएकाे थियाे तर कुनै नतिजा भने निस्किएन । त्यसपछि भने अमेरिका र उत्तर काेरियाबीच कुराकानी राेकिएकाे छ । यद्यपि जाे बाइडन सरकारले उत्तर काेरियासँग वार्ता गर्न चाहेकाे सङ्केत दिएकाे थियाे । तर राष्ट्रपति बाइडनले किम जाेङ उनसँग भेट गर्ने/नगर्ने भन्नेबारे स्पष्ट थिएन ।

यस वर्ष उत्तर काेरियाले कीर्तिमानी सङ्ख्यामा ब्यालेस्टिक मिसाइल परीक्षण गरेकाे थियाे । यही कारण काेरिया प्रायद्वीपमा तनाव बढेकाे छ । 

शुक्रबार​ २४ भदौ २०७९ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया