×

मणिपुर हिंसाबारे ‘सरकारले निष्क्रियता देखाएको’ काङ्ग्रेस नेता गान्धीको आरोप

images


भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप बुधबार लगाउनुभएको छ । 

मणिपुर राज्यमा कम्तीमा १२० जनाको ज्यान जाने गरी भएको हिंसालाई लिएर विपक्षी दलहरूले गरेको आलोचनाप्रति मोदी प्रशासनले यसै साता आफ्नो धारणा राख्दै विपक्षीहरूको आरोपको खण्डन गरेको छ । 

संसदमा गान्धीले गरेको कडा सम्बोधन महिनौंसम्म अशान्ति लाई भड्काउन दिएकोमा सरकारको राजिनामाको मागसहित दर्ता भएको अविश्वास मतको बहसमाथिको एक हिस्सा हो । 

उहाँले भन्नुभयो, “तपाईंहरू देशैभरि मट्टितेल फ्याँक्दै हुनुहुन्छ । तपाईंले मणिपुरमा मट्टितेल फ्याँक्नुभयो यसबाट द्वन्द्व (आगो दन्किएको) छ,” गान्धीले समर्थकको जयजयकार र प्रतिद्वन्द्वी सांसदहरूको कटाक्षबीच भन्नुभयो । 

भारतमा अर्को वर्षको सुरुमा आम निर्वाचन हुनेछ । मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) लाई विपक्षीहरूले चुनावी उद्देश्यका लागि विभाजन भड्काएको आरोप लगाउँदै आएका छन् । 

भाजपाको बृहत् बहुमत रहेको ५४३ सदस्यीय तल्लो सदनमा अविश्वासको मतलाई भाजपाले सहजै बहुमतद्वारा असफल पार्ने अपेक्षा गरिएको छ ।

“भारतीय सेनाले एक दिनमा शान्ति ल्याउन सक्छ, तर तपाईंहरूले त्यसको प्रयोग गरिरहनुभएको छैन,” गान्धीले भन्नुभयो ।

गान्धीले भन्नुभयो, “यदि प्रधानमन्त्री मोदीले भारतको आवाज सुन्नुहुन्न भने कसको आवाज सुन्नुहुन्छ?”

हिंसा नियन्त्रणका लागि भारतका अन्य भागबाट सैनिकहरू तैनाथ गरिएको छ र राज्यका अधिकांश भागमा कर्फ्यु र इन्टरनेट बन्द भएको छ।

भारतको सर्वोच्च अदालतले गत साता ‘मोदी’ समुदायको आलोचना गरेको भन्दै गान्धीविरूद्धको मानहानिको सजाय स्थगन गरेपछि गान्धीलाई सोमबार संसद्मा पुनः स्थापित गरिएको थियो ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा राजनीतिक विरोधलाई दबाउने प्रयासको रूपमा आलोचकहरूले उठाएको मुद्दामा गान्धीलाई मार्चमा दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

त्रिपन्न वर्षीय गान्धी स्वतन्त्रताका नेता जवाहरलाल नेहरुदेखि सुरु भएका तीन पूर्वप्रधानमन्त्रीका छोरा, नाति र पनाति हुनुहुन्छ । राहुलका मावली हजुरबुवा नेहरू, हजुरआमा इन्दीरा गान्धी र पिता राजिब गान्धीले भारतको प्रधानमन्त्रकिो जिम्मेवारी बहन गरिसक्नुभएको छ । 

कुनै समय भारतको प्रमुख राजनीतिक शक्ति रहेको गान्धीको दल भारतीय काङ्ग्रेसले भाजपाविरुद्ध दुई पटक पराजय भोगिसकेको छ । 

गान्धी र उहाँका सहयोगीहरूले अर्को वर्ष हुने राष्ट्रिय चुनावअघि साना पार्टीहरूको ठूलो गठबन्धन बनाउने प्रयास गरिरहेका छन् भने भारतीय प्रधानमन्त्री मोदीले लगातार तेस्रो कार्यकालका लागि निर्बाचन अभियानमा जाने तयारी गरिरहनुभएको छ ।

मणिपुरमा हिन्दू बहुल मेइतेई बहुल र क्रिश्चियन समुदायको बाहुल्यता रहेको कुकी समुदायबीच गत मे महिनायता भएको सशस्त्र झडपमा कम्तीमा १२० जनाको मृत्यु भइसकेको छ ।

विरोधी समुदायका सदस्यहरूलाई बाहिर राख्न प्रतिद्वन्द्वी मिलिशियाहरूले नाकावन्दीहरू खडा गरेपछि राज्य जातीय आधारमा विभाजित भएको छ । 

झडप सुरु भएदेखि नै द्वन्द्वबारे बोल्न दुई महिनाभन्दा बढी समय लागेको भन्दै विपक्षीहरूले मोदीको आलोचना गर्दै आएका छन् । 

अविश्वासको बहसको अन्त्यमा प्रधानमन्त्रीको सम्बोधन हुने र सम्भवतः बिहीबार यसमा मतदान हुनेछ ।
---

बुधबार २४ साउन २०८० ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया