×

साइकलको खुसी

images

महोत्तरी, २३ साउन (रासस) : महोत्तरीको मटिहानी–८ श्रीराम माध्यमिक विद्यालयकी छात्रा नेहा मण्डलले नयाँ साइकल पाएपछि दङ्ग पर्दै ‘सेल्फी’ खिच्नुभयो । आइतबार नयाँ साइकल पाएको खुसी साथीहरूसँगै नेहाले ‘सेल्फी’ खिच्दा उहाँका साथी निक्की पूर्वे र भाग्यवती मण्डलले हातका दुई औँला सोझ्याउँदै ‘पोज’ दिनुभयो । अरु साथी पनि खुसीका साथ उभिए ।

“हाम्रो विद्यालय आउजाउ मात्र होइन, यो साइकल धेरै काममा साथी हुनेछ”, नेहा भन्नुहुन्छ, “यसले समय व्यवस्थापनसँगै कामलाई छरितो सम्पादनमा सहयोग गर्नेछ ।” विद्यालय समयभन्दा बाहेकका साँझ बिहान घरमा हाटबजार वा अन्य जरुरीमा बाबाआमाले अराउने काममा पनि साइकलले सजिलो बनाउने नेहासहितका साइकल पाउने छात्राको भनाइ छ । आइतबार श्रीराम मावि मटिहानीका ११ कक्षामा पढ्ने ७७ छात्राले साइकल पाएका छन् । 

“अब घरको कामकाजमा लाग्दा थोरै अबेर भए म दौडिनुपर्ने छैन, साइकल दौडन्छ”, अर्की छात्रा निक्की पूर्वे भन्नुहुन्छ, “अब म हम्मेसी विद्यालयमा गयल हुनुपर्ने छैन ।” साइकलले आउजाउमा सहजता बढाएको मात्र नभइ पढाइमा लाग्न थप प्रेरणा पनि दिएको पूर्वेको भनाइ छ ।

उच्च  शिक्षामा छोरीको पहुँच बढाउन कक्षा–११ का छात्रालाई साधन र शैक्षिक सामग्रीमा सबल बनाउन साइकल उपलब्ध गराउन थालिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । “त्यसै पनि शिक्षामा छोरीको पहुँच कम छ, त्यसमा पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) जेनतेन सकेपछि त विद्यालयमा छोरीको सङ्ख्या स्वात्तै घटेको देखियो”, उहाँ भन्नुहुन्छ, “यो अवस्था चिर्न हामीले पछिल्ला चार वर्षयता ११ कक्षाका छात्रालाई साइकल दिन थालेका हौँ ।” मटिहानी नगरक्षेत्रका माध्यमिक विद्यालय (कक्षा–११, १२ पठनपाठन हुँदै आएका) मा कक्षा ११ मा नाम लेखाएर नियमित आउजाउ गरिरहेका जुनसुकै ठाउँमा स्थायी बसोबास भएका छात्रालाई नगरपालिकाले यो सुविधा दिँदै आएको मण्डलको भनाइ छ ।


“मुख्य मटिहानीबाहिरका छात्रा जो टाढाबाट यहाँको विद्यालय आउँछन्, उनीहरूको विद्यालय आउजाउ सहज बनाउन यो कार्यक्रमले सघाउ पु¥याएको छ”, मण्डल भन्नुहुन्छ, “जहाँसुकैका छोरी पढ्नसके त्यसले समाजको अग्रपङ्तिमा मद्दत नै पु¥याउँछ ।” 

मटिहानी–८ स्थित श्रीराम माविमा मटिहानीबाहेक जलेश्वर नगरपालिका, धनुषाको तुलसियाही, मुखियापट्टी मुसर्नियाँ र केही मित्रराष्ट्र भारतको मटिहानीसँगै जोडिएको मधवापुरकासमेत छात्रा पढ्ने गरेका विद्यालय प्रशासनले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ देखि थालिएको कक्षा ११ का छात्राका लागिको यो कार्यक्रमको सकारात्मक प्रभाव बढेको छ । बर्सेनि कक्षा ११ मा छात्रा भर्ना त्यसयता बढ्दै गएको श्रीराम मावि मटिहानीका प्रधानाध्यापक श्रीशकुमार मिश्र बताउनुहुन्छ । “पहिलो वर्ष शैक्षिक सत्र २०७७ मा ३५ छात्रा थिए, तिनले साइकल पाए, त्यसयता बर्सेनि छात्रा सङ्ख्या बढ्दै अहिले ७७ पुगेको छ”, प्रधानाध्यापक मिश्र भन्नुहुन्छ, “यो आकर्षण साइकलसहित शैक्षिक सामग्री पाइने भएर र मटिहानी नगर कार्यपालिकाको बालविवाह निरुत्साहन कार्यक्रमले बढाएको छ ।” कक्षा ११ मा भर्ना हुने सङ्ख्या मात्र नभएर अध्ययन अभिरुचि, विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि छात्रा सहभागिता बढ्दै गएको मिश्रको भनाइ छ ।


पछिल्लो पटक मटिहानी नगर कार्यपालिकाको कार्यालयले उमेर नपुगी गरिने विवाह (२० वर्ष नपुगी गरिने बालविवाह) निरुत्साहित गर्न विशेष कार्यक्रम सुरु गरेको छ । खासमा उमेर नपुग्दै विवाह गर्ने आम चलनले छोरीको उच्च शिक्षाको पहुँचलाई रोक्ने हुँदा अहिले नगर कार्यपालिका कार्यालयले उमेर पुगेपछि मात्र छोरी विवाह गर्ने अभिभावकलाई सार्वजनिक सम्मान दिने गरेको छ । पछिल्लो छ महिनाभित्र ५० जना यस्ता अभिभावक सम्मानित भइसकेका छन् । यसले छोरीहरूको उच्च शिक्षा पहुँचमा सघाउ पु¥याएको नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख चन्देश्वर साह बताउनुहुन्छ ।

मटिहानी नगरपालिकामा पाँच माध्यमिक र सात आधारभूत गरी १२ सामुदायिक विद्यालय छन् । पाँच माविमध्ये राजकीय संस्कृत माध्यमिक विद्यालय र श्रीराम माविमा कक्षा–११, १२ पठनपाठन हुँदै आएको छ । श्रीराम माविमा मटिहानीबाहिरका छात्राको सङ्ख्या बढ्दै गएको हुँदा उनीहरूलाई थप उत्प्रेरित गराउन यो कार्यक्रम थालिएको साहको भनाइ छ ।

आफ्ना नानीहरूले साइकल पाएपछि उनीहरूको पढाइप्रति अभिभावकले पनि सकारात्मक चासो बढाएका छन् । समयसमयमा गरिने शैक्षिक सामग्रीको भरथेग र पछिल्ला चार वर्षयताको साइकल कार्यक्रमले छोरीहरू विद्यालय जान मात्र नभई घरमै पनि पढाइमा मेहनत गर्न लागेका मटिहानी–८ का मोहम्मद इसराफूल बताउनुहुन्छ । 
 

बुधबार २४ साउन २०८० ०६:२१ AM मा प्रकाशित

प्रतिक्रिया