×

आलेख: समकक्षता लिन भोग्नुपर्ने सास्ती

images

कर्णाली, २३ साउन: विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणपत्र लिन निकै हैरानी खेप्नु परेका समाचार व्यापकरुपमा आइरहेकै छन् । विदेशबाट लिएको उच्च शिक्षाको समक्षकता त्रिविबाट पाउन फलामको च्यूरा चपाउनु जत्तिकै अनुभूति ती विद्यार्थीहरुले गरिरहेका छन् । 

 उच्च शिक्षा लिएर नेपालमै सेवा दिने लक्ष्य बोकेका उनीहरुले त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता प्रमाणपत्र लिन ठूलो सङ्घर्ष गरे पनि सजिलै प्रमाणपत्र पाउने अवस्था नभएको उनीहरुले दुःखेसो पोखेका छन् । चिकित्सा क्षेत्रलगायत अन्य विषयमा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका अधिकांश नेपाली विद्यार्थीहरु आफ्नो देश छोड्न बाध्य छन् । यसले गर्दा देश बाहिरबाट उच्च शिक्षा हासिल गरेका साधारण तथा प्राविधिक दक्ष जनशक्ति पुनः बाहिरिने क्रम पनि बढ्दै गएको पाइन्छ । समकक्षता प्राप्त गर्न नसकेका पीडित विद्यार्थीहरुका अनुसार विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि गरेका विद्यार्थीलाई समकक्षता प्रमाणपत्र दिन त्रिवि सकारात्मक नभएको उनीहरुको आरोप छ ।

 भारतबाट मात्रै हालै उच्च शिक्षा हासिल गरेका एक सयभन्दा बढी विद्यार्थीले समकक्षता पाउन सकेका छैनन् । त्यो नपाउँदा धेरैले देश छोडिसकेका छन् । राजीव गान्धी विश्वविद्यालय अफ हेल्थ साइन्सिज कर्नाटक भारतबाट फार्मेसी अफ डाक्टर गर्नुभएका कञ्चनपुर जिल्ला निवासी डा शरद चन्दले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणपत्र लिन निकै ठूलो सङ्घर्ष गर्नु परेको बताउनुभयो । छ महिनाको अवधिमा करिब ६० पटक विश्वविद्यालयमा पुगेको उहाँको तीतो अनुभूति छ । उहाँका अनुसार डाक्टर अफ फार्मेसी (फार्मा डी) छ वर्ष अवधिको (अन्डरग्र्याजुयट र पोष्ट ग्र्याजुयट) फार्मेसी काउन्सिल अफ इण्डियाले प्रमाणित गरेको कोर्ष हो । यसमा भने प्लस टु विथ भौतिक विज्ञान, रसायन र जीव विज्ञान÷गणित अध्ययन हुने गर्दछ । मान्यता अनुरुप पास गरिएको तहको विद्यार्थीहरुले समकक्षता पाउन नसक्दा यसले त्रिविप्रति हेर्ने दृष्टिकोण नकारात्मक मात्र बनेको छैन, उनीहरुमा हिनताबोधका साथै निराशा छाएको छ । 

उहाँले भन्नुभयो, “मैले समकक्षता माग गर्दा त्रिविले सुरुमा ‘डाक्टर अफ फार्मेसी इकवुभ्यालेन्ट टू फार्म डी’ भनेर दिएको थियो तर पछि त्यही समक्षकतालाई गोरखापत्रमा सूचना निकालेर रद्ध गरियो । समकक्षता प्राप्त गरेकै आधारमा विद्यावारिधि (पिएचडी) आवेदन गर्न फाइनलको निर्णय हुँदा त्यसलाई स्नातकोत्तर तह नमान्ने अवस्था आयो र यसले मलाई प्रवेशका लागि आवश्यक प्रक्रिया मिलेन भनेपछि त्यसभन्दा अगाडि मेरो पिएचडीको समकक्षता प्राप्त हुन सकेको छैन ।” 

उहाँले विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रमा आवश्यक सबै कागजात पेश गर्नुभएको थियोे । आफू पढेको विश्वविद्यालय र परिषद्को सिफारिस दिएपछि केन्द्रले उहाँलाई फर्मा डीको समकक्षता प्रमाणपत्र दियो र पिएचडी समकक्षताका लागि पनि आवेदन दिन सल्लाह दियो । त्यसको केही दिनपछि गोरखापत्रमा सूचना प्रकाशित गरी उहाँलाई उपलब्ध गरेको समकक्षता प्रमाणपत्र गल्ती दिइएको भनेर सूचना आयो । 

 त्रिभुवन विश्वविद्यालय उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता निर्धारण कार्यविधि, २०७८ को परिच्छेद ५ को दफा १३ मा एकीकृत तथा द्वेध उपाधि सम्बन्धमा प्रष्ट्याएको छ । त्यसमा सम्बन्धित अध्ययन संस्थान, सङ्कायअन्तर्गतको स्नातक, स्नातकोत्तर र विद्यावारिधिको लागि तोकेको पाठ्यांश, अवधि वा ‘क्रेडिट आवर’ र परीक्षा प्रणालीको मापदण्डभित्र पर्ने गरी कुनै नेपाली नागरिकले विदेशी विश्वविद्यालयबाट प्रवेशिकापछिको स्नातक, प्रवीणता प्रमाणपत्र तहपछिको स्नातक र स्नातकोत्तरपछिको विद्यावारिधिको उपाधि प्राप्त गरी समकक्षता माग गरेमा आवश्यक प्रक्रिया अपनाई समकक्षता दिन सकिने उल्लेख छ । 

 त्यसैगरी कसैले कुनै तहमा अध्ययन गर्दा केही थप क्रेडिट लिई दोहोरो उपाधिको समकक्षता वा मान्यताको माग गरेमा पनि आवश्यक प्रक्रिया अपनाई ‘क्रेडिट’ पुगेको अवस्थामा दोहोरो उपाधिको समकक्षता वा मान्यता प्रदान गर्न सकिने भन्ने उल्लेख गरिएको छ । त्रिवि पाठ्यक्रम विकास केन्द्रले तोकेको मापदण्डबमोजिम सम्पूर्ण कागजात पु¥याउँदा पनि समकक्षता प्रमाणपत्र दिन नमानेको डा चन्दले दुखेसो गर्नुभयो । 

केन्द्रका कार्यकारी निर्देशक प्राडा पारसनाथ यादवले समकक्षता लिन आवश्यक कागजात बुझाएका र कार्यविधिमा तोकेको मापदण्ड अनुसार मात्र उनीहरुलाई मान्यता प्रमाणपत्र प्रदान गर्दै आएको बताउनुभयो । रासससँग उहाँले भन्नुभयो, “समकक्षता निर्धारण कार्यविधि, २०७८ ले तोकेबमोजिम समकक्षता दिनलाई प्रवेश आवश्यकता, कोर्स विषयवस्तु, क्रेडिट आवर र अवधि सबै पुग्नुपर्दछ । पुष्टिसहितको डीन कार्यालयबाट राय आएपछि मात्र उपलब्ध गरिन्छ । ७५ प्रतिशत कोर्ससँग सम्बन्धित विषयवस्तु, ‘क्रेडिट आवर’ र अवधि मिल्नेबित्तिकै त्रिविले समकक्षता दिएकै छ ।”

समकक्षता उपलब्धताको कार्य सहज बनाएर अब अनलाइनबाटै काम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्नातक एकसय र ६० स्नातकोत्तरमा ६० ‘क्रेडिट आवर’ र पिएचडी तीन वर्ष गरेकोलगायतका प्रक्रिया पूरा गरेकालाई डीन कार्यालयको रायबाट बोर्ड बसेर समकक्षता दिँदै आएका छौंँ । विश्वका विश्वविद्यालय पढाइ हुने सबै विधा त्रिविमा छैन । फिजियोथेरापी र फार्मा डी को मार्केट प्रोग्राम पनि यहाँ छैन । फार्म डी भनेको फार्मेसी हो र हामीले फार्म डीकै समकक्षता दिएका छौंँ । प्राज्ञिक विषयको समकक्षता दिन हामीले लचिलो नै बनेका छौंँ ।” 

राजीव गान्धी विश्वविद्यालय भारतबाट डाक्टर अफ फार्मेसी (पिजी) गर्नुभएका तातोपानी गाउँपालिका जुम्ला निवासी कलबहादुर रावलले त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र दिने विषयमा गाह्रो बनाइदिँदा उच्च शिक्षा प्राप्त गरेका धेरै प्राविधिक जनशक्ति बाहिरिनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिविले फार्मा डीलाई फार्मा डी भनेर समकक्षता दिएपनि मास्टर डिग्री सरह हो कि होइन भनेर स्पष्ट खुलाएको छैन । यसले फार्मा डीलाई पोष्ट ग्र्याजुयट (पिजी) हो भनेर प्रष्ट्याइदिनु पर्यो । भारतीय विश्वविद्यालय अनुदान आयोगले फार्मा डीलाई मास्टर डिग्रीको हो भनेर स्पष्ट गरिदिएको छ ।”

त्रिविले द्वेध चरित्र देखाएर विद्यार्थीहरुलाई सास्ती दिने गरेको उहाँको आरोप छ । कर्मचारीहरुले गरेको व्यवहारले सयौं विद्यार्थीले समकक्षता प्रमाणपत्र पाएका छैनन् । पीडित विद्यार्थीहरुको प्रश्न छ, “हामीले प्राप्त गरेको उपाधि सरहको समकक्षता लिन ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ ? यो क्षति कसले व्यहोर्ने ?” क्रेडिट आवरका हिसाबले वैध भएको भन्दै समकक्षता प्राप्तिका निम्ति नौ वर्ष लडिरहेको पीडित विद्यार्थीहरुले बताएका छन् । 

समकक्षता प्रमाणपत्र दिने कुरामा केन्द्रले स्पष्ट कारण बताउने नगरेको उनीहरुको आरोप छ । कर्मचारीले कागजात दिँदा पुग्यो पुगेन भन्ने प्रतिक्रिया दिंदैनन् । त्रिविका अनुसारमा नेपालमा फार्मा डी कोर्स नभएकाले समकक्षता दिनमा धेरै ठूलो अल्झन भएको छ । पोखरा तथा काठमाडौँ विश्वविद्यालयबाट यो सम्बन्धन प्राप्त नहुने भएकाले त्रिविको एकाधिकार भएको र यो तोडिनुपर्ने उनीहरुको माग छ ।   

डा रावलले फार्म डी भनेको पोष्ट ग्र्याजुएट भनेर प्रष्ट नगर्दा आफूहरुलाई स्नातकोत्तर तहमा आवेदन दिन जागीर खान सहज नभएको बताउनुभयो । भारतले फार्म डीलाई पोष्ट ग्र्याजुएट भनेर प्रष्ट पारिदिएको छ तर त्रिविले यसमा प्रस्ट्याएको छैन । अहिले उनीहरुको प्रश्न छ, “हामीले गरेको ग्र्याजुएट र पोष्ट ग्र्याजुएट्सको समकक्षता प्रमाणपत्र कसले दिन्छ ?” 

विश्वका कुनै पनि कुनामा पुगेर उच्च शिक्षा प्राप्त गरे पनि सेवा आफ्नै भूमिमा दिने प्रखर इच्छा राखेका विद्यार्थीहरु त्रिविबाट समकक्षता लिन खोज्दा मानसिक पीडा बढी खेप्नुपरेको दुखेसो गर्छन् । त्रिविका कर्मचारीले पनि निकै दुःख दिने गरेको उनीहरुको आरोप छ भने समकक्षता लिन भोग्न परेको सास्तीले उनीहरुले दिक्क भएको बताएका छन् । 

 नेपालको शिक्षा नीतिमा पोष्ट ग्र्याजुएट र मास्टर डिग्रीमा फरक हो र ? विदेशी उत्कृष्ट विश्वविद्यालयहरुबाट उच्च शिक्षाको उपाधि हासिल गर्दा पनि समकक्षता दिन त्रिविले किन आनाकानी गर्ने ? किन यसमा राजनीतिक भइरहन्छ ? अपराधशास्त्री डा आस्था दाहालले पनि त्रिविको कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । समकक्षताका लागि उपलब्ध गराएको कागजात र शुल्क ठिकै छ भन्ने तर पछि यो मिलेन त्यो मिलेन भन्ने प्रवृत्ति सबैभन्दा बढी खतरनाक रहेको उहाँको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिविबाट समकक्षता प्रमाणपत्र लिन विद्यार्थीलाई निकै असहज र उनीहरुप्रति गरिने व्यवहार अपमानजनक भएको भन्दै नेपाल सरकार शिक्षा मन्त्रालयको ध्यानाकर्षण गर्नुभयो । उहाँले त्रिविलाई राजनीतिबाट टाढा राखिनुपर्ने र अलाङ्कारिक नभई योग्यताका आधारमा कार्यकारी अधिकारसहितको कुलपति हुनुपर्ने मागसमेत तीन साताअघि संसद्मा राख्नुभएको थियो ।

 विदेशी विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेर आएका विद्यार्थीहरुले नेपालमा मान्यता एवं समकक्षता प्रमाणपत्र पाउन नसकेर थुप्रै समस्या भोग्दै आएका छन् । ती समस्या समाधान गर्न त्रिविको एकाधिकार तोड्नुपर्ने या कुनै पनि काम सहजरुपले हुने अवस्था सिर्जना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । एकातिर सबैखाले उच्च शिक्षा नेपालमा हासिल गर्न नपाइने अर्कोतिर दुःख गरेर विदेशी विश्वविद्यालयबाट पढेर आफ्नै भूमिका सेवा गरुँभन्दा पनि अपमान सहनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने पीडितहरु बताउँछन् । त्यही उपाधि, त्यही तह र त्यही श्रेणी हासिल गरेको जनशक्तिलाई विदेशमा सम्मान हुँदा नेपालमा अपमान हुनु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ छ । 

–शुरबहादुर सिंह

मङ्गलबार २३ साउन २०८० ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया