काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द, एकीकृत समाजवादीका महाचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चावन्दी एकताबद्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको छलफलपछि तीन नेताले विज्ञाप्ति जारी गर्दै सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्ने बताएका हुन् ।
उनीहरुले पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट रहेको उल्लेख गर्दै आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको बताएका छन् ।
तीन नेताको विज्ञप्ति:
मुलुकको असाधारण राजनीतिक अन्योलका बारेमा हामी सबै जानकार नै छौं । सत्तासिन नेताहरु गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरुले खेल्नु पर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरु जनताबाट टाढिदै गएका थिए । दलहरुमा सुधारका प्रयासहरु असफल हुँदै गएका थिए । जसले गर्दा ती दलहरुले गत भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गते भएको विध्वंशलाई थेग्न सकेनन् । त्यसपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएका छन् ।
राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहान्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।
आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ । राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सवै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ ।
हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएका छौं । र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौं ।
प्रतिक्रिया