×

भारतीय कम्पनी 'जीएमआर' सँग सरकार पटक–पटक झुक्याे : रावल

images

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना अघि बढाउने जीएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ । 

आज बुधवार माथिल्लाे कर्णाली आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि याे आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी नागरिककाे सहभागितामा सरकार आफैँले अगाडि बढाउन पनि आग्रह गर्नुभयो । उहाँले विगतमा गरिएको सर्तहरू उल्लङ्घन गर्ने, नेपालको राष्ट्रिय हित विपरीत हुने गरी त्याे कम्पनीले गतिविधि गरिरहेकाले सम्झौता रद्द गरेर नेपाल सरकार आफैँले वित्तीय व्यवस्थापन गरेर त्याे आयोजना अघि बढाउनुपर्ने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘जीएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना लामो समयसम्म ओगट्दै सम्झौताको उल्लङ्घन गरेर नेपाललाई क्षति पुर्‍याउनुका साथै राष्ट्रिय हितमा आँच पुर्‍याएकाले यो सम्झौँता तत्काल खारेज गरियोस् । याे आयोजनालाई जनसहभागिता र नेपाल सरकारको लगानीमा अगाडि बढाइयाेस् । ’  

सांसद रावलले सम्झौता विपरीतका गतिविधिमा संलग्न त्याे कम्पनीसँग पटक–पटक झुक्ने काम गरिरहेको भन्दै सरकारको कडा आलोचना पनि गर्नुभयो ।

बुधबार २२ भदौ २०७९ ०५:५३ PM मा प्रकाशित

प्रतिक्रिया