×

चुनाव प्रभावित पार्न सरकारले कर्मचारीलाई छानीछानी जिल्ला–जिल्लामा पठाइरहेकाे छ : भट्टराई

images

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई प्रभावित गर्ने गरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउँदै तत्काल बन्द गर्न माग गरेको छ । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले चुनावलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्ला–जिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिनुभयो । पालिका चुनावमा पनि सत्तारूढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारी परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको जिकिर गर्दै उहाँले आउँदाे चुनावमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘चुनावकाे मिति तय भएकाे छ । यस्तो बेलामा सरकारले धमाधाम दीर्घकालीन महत्त्वका निर्णयहरू गरेकाे छ । यस्तै जथाभाबी र मनलाग्दी तरिकाले कर्मचारी सरुवा भइरहेको छ ।  चुनावलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरू छानीछानी जिल्ला–जिल्लामा प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयको प्रमुख अधिकारीको रूपमा पठाउने काम भइरहेको छ । प्रमुख प्रतिपक्ष दल हुनुको नाताले नेकपा एमाले चुनावकाे पूर्वसन्ध्यामा यस्ताे खालको हर्कतहरू गरेन । हामी सरकारकाे याे कामकाे कडारूपमा प्रतिवाद गर्न चाहन्छौँ । सरुवा भएर जानेहरूलाई भन्न चाहन्छौँ– नेकपा एमाले चुप लागेर बस्दैन । आस्थाको आधारमा कुनै पनि खालको अन्याय गर्न थालियो भने वा मतलाई प्रभावित गर्न थालियो भने हामी कुनै पनि हालतमा त्यसलाई प्रतिवाद गर्नेछौँ भन्ने म चेतावनीका साथ भन्न चाहन्छु ।

निर्वाचन आयोगले यही भदौ २० गतेयता कर्मचारी सरुवा, बढुवा गर्ने काम नगर्न सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रमुख सचेतक भट्टराईले हास्य कलाकार अपूर्वक्षितिज सिंहलाई आफ्नो कला प्रस्तुत गरेबापत १० दिनदेखि हिरासतमा राखेकोमा आपत्ति जनाउँदै तत्काल रिहाइ गर्न पनि सरकारलाई दबाब दिनुभयो । 

बुधबार २२ भदौ २०७९ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया