×

आफ्नै तस्बिर हेरेर दङ्ग परिन अनुपमा

images

भादगाउँ- घरको भूइँतल्लाको कोठामा पलङमाथि बसिरहनुभएकी युवतीले कोठामा प्रवेश गर्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहितको टोलीलाई नमस्कार गर्नुभयो । प्रजिअ शर्माले नमस्कार फर्काउनासाथ युवतीले तोतेबोली बोल्दै हातको ईशाराले बोल्ने कोसिस गर्नुभयो, तर उहाँको बोली र ईशारा प्रजिअ शर्माले बुभ्mनुभएन ।

 शर्माले के भन्नुभएको भनी प्रश्न गर्नुभयो, तर युवतीले कुनै प्रतिक्र्रिया दिनुभएन । किनकी उहाँ बोल्न सक्नुहुन्न । उहाँको श्रवणशक्ति शून्य छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारकी १७ वर्षीया अनुमपा मिश्रमा जन्मजात अपाङ्गताको समस्या छ । उहाँ हिँडडुल गर्न समेत सक्नुहुन्न । पक्षघातले उहाँको कम्मरमुनिको भाग चल्दैन । शारीरिक अस्वस्थाका कारण अनुपमाले उमेर पुगे पनि नागरिकता पाउनुभएको थिएन । 

यस्तै सूर्यविनायक नगरपालिका–४ दधिकोट चर्खण्डीका ९१ वर्षीय वृद्ध सूर्यबहादुर खड्का ओछ्यान परेको पाँच वर्ष भयो । औषधिका कारण दुवै आँखाको दृष्टि गुमाएका खड्का हिँडडुल गर्न सक्नुहुन्न । निमोनियाबाट पीडित खड्कालाई ओछ्यानमा २४सै घण्टा अक्सिजन दिनुपर्दछ । उहाँले नागरिकता हराउनुभयो । खड्काले पनि शारीरिक अशक्तताकै कारण नागरिकताको प्रतिलिपि लिन सक्नुभएको थिएन ।

अशक्त र अपाङ्गता भएकै कारण उमेर पुगेपनि अनुपमाले नागरिकता लिन नसकेको र सूर्यबहादुरले नागरिकताको प्रतिलिपि लिन नसक्नुभएको जानकारी पाएपछि प्रजिअ शर्माले दुवै जनालाई घरमै पुगेर नागरिकता दिने निर्णय गर्नुभयो । सोही अनुसार बुधबार साँझ कार्यालय समयपछि प्रजिअ शर्मासहितको टोली उहाँहरुको घरमा पुग्नुभयो र दुवै जनालाई नागरिकता प्रदान गर्नुभयो ।

प्रजिअ शर्माले नागरिकता प्रदान गरेसँगै आप्mनै तस्बिर र नागरिकता देखेर अनुपमा दङ्ग पर्नुभयो । हातको इशाराले प्रजिअ शर्मालाई मेरो तस्बिर भन्दै देखाउनुभयो । अनुपमाले प्रजिअ शर्माको गलामा झुण्डिएको परिचयपत्र हेर्दै फेरि आफ्नो नागरिकता देखाउनुभयो । 


असहाय, अशक्तलाई घरदैलोमा पुगेर सेवा दिने सरकारी नीतिअन्तर्गत उहाँहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ शर्माले बताउनुभयो । “आवश्यक परे सरकार घरदैलोमा पुगेर सेवा दिन्छ भन्ने सन्देश दिन  घरमै पुगेका हौँ”, उहाँले भन्नुभयो ।

नागरिकता हराएकाले प्रतिलिपी माग गरेको सूर्यबहादुरका छोरा श्रीकृष्ण खड्काले बताउनुभयो । श्रीकृष्णले पिता सूर्यबहादुरको नागरिकताको प्रतिलिपि माग गरेपछि प्रशासनले आवश्यक छानबिन गरी, सत्यतथ्य पत्ता लगाएर घरमै पुगेर सेवा दिने निर्णय गरेको प्रजिअ शर्माले बताउनुभयो । 

त्यस्तै अनुपमाका पिता उद्धवप्रसाद मिश्रले छोरीको नागरिकता माग गरेपछि नागरिकता प्रदान गर्न प्रजिअ शर्माको टोली मिश्र निवास पुग्नुभएको हो । भक्तपुरमा अझै पनि समयमा घटना दर्ता नगर्ने, नागरिकता जस्ता जन्मसिद्ध अधिकार प्राप्ति नगर्ने प्रवृत्ति रहेको र यस्तो प्रवित्तिले महिला अधिकारबाट वञ्चित हुनुपर्ने, सम्पत्तिको हक हस्तान्तरणमा समस्या आउने गरेको प्रजिअ शर्माले बताउनुभयो । उहाँले नागरिकले समयमा घटना दर्ता गर्ने, नागरिकता, विवाह दर्ता लगायतका आवश्यक कागजपत्र समयमै लिन उहाँले आह्वान गर्नुभयो ।


खड्का र मिश्रलाई नागरिकता प्रदान गर्न प्रजिअ शर्मासहित सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, भक्तपुर प्रहरी प्रमुख शिवकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, नागरिकता फाँटका कर्मचारीलगायत सहभागी थिए ।

बिहीबार २४ चैत २०७८ ११:२५ PM मा प्रकाशित

प्रतिक्रिया