×

चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल संलग्न भए/नभएकोबारे प्रष्ट पारियाेस् : काेइराला

images

 पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल संलग्न भए/नभएकोबारे प्रष्ट पार्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा बोल्दै नेत्री कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गर्नुभएको हो ।

चिनियाँ राजदूत होउ यान्छीको एउटा दैनिकमा छापिएको लेखमा पनि त्यही आशयको भनाइ प्रकाशित भएको र राष्ट्रिय सभाका अध्यक्षसँगको भिडिओ कन्फेरेन्समा चिनियाँ सरकारका उच्च राजनीतिक सल्लाहकारले ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालले सहयोग गरेबापत धन्यवाद ज्ञापन र स्वागत गर्दछौँ भनेको कुराले आशङ्का जन्माएको कोइरालाको भनाइ छ ।

कुनै पनि सेक्युरिटी अलाइन्समा सहमति नगर्ने नेपालको नीति रहेको भन्दै कोइरालाले चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल संलग्न भए/नभएको बारे परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । 

बैठकमा बाेल्दै नेत्री कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको भन्दै कुटनीतिक संवादमार्फत समस्याको समाधान गर्न पनि आग्रह गर्नुभयाे ।

मङ्गलबार २१ भदौ २०७९ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया