काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको लक्ष्य केवल 'वैकल्पिक शक्ति' बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताउनुभएको छ। पार्टीको राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सुरु भएको जिल्ला अधिवेशनका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत पार्टी पंक्तिलाई विशेष सम्बोधन गर्दै सभापति लामिछानेले उक्त कुरा व्यक्त गर्नुभएको हो।
युगले दिएको अभिभारा पूरा गर्न तथा राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउन अब पार्टीभित्र ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुने बेला आएको उहाँले उल्लेख गर्नुभयो।
'पदोन्नतिको अपेक्षा र योगदानको हिसाब' खोज्ने प्रवृत्तिको आलोचना
सम्बोधनका क्रममा सभापति लामिछानेले पार्टी स्थापनाको प्रारम्भिक चरणमा सहमतिमा बाँडिएका तदर्थ जिम्मेवारीलाई नै स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा 'योगदान' को हिसाब-किताब खोज्ने प्रवृत्तिको कडा आलोचना गर्नुभयो।
महाधिवेशन विधि र पद्धति निर्माण गर्ने अवसर
अधिवेशन र महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि-पद्धति र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको लामिछानेले स्पष्ट पार्नुभयो। पुराना सदस्यहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा थपेर संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरूबाट इमानदार एवं जनमैत्री नेतृत्व छानिने उहाँले विश्वास व्यक्त गर्नुभयो।
रास्वपाको यो उपलब्धि केही व्यक्तिको मात्र नभएर सबैभन्दा माथि मतदाताको विवेक र सम्पूर्ण सदस्यहरूको समर्पणको परिणाम भएको उहाँको भनाइ थियो। रास्वपाले यतिबेला देशका ६७ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्दै आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ।
प्रतिक्रिया