×

परम्पराका नाममा हुने अन्यायलाई इतिहास बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

images

राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा समाजमा हुने अन्यायलाई इतिहास बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सारा डेभिन्सन ट्रेसीद्वारा लिखित ‘नो लङ्गर अनटचेवल’ पुस्तकको समर्पण समारोहमा राष्ट्रपति भण्डारीले परम्पराका नाममा हुने अन्याय वा कुप्रथा उन्मूलन गर्न समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले वादी समुदायमा रहेका विभेद अन्त्य गर्न राज्यका सबै अङ्गको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै ती विभेदविरुद्ध बनेको कानुनको पूर्ण परिपालन हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै यो समुदायको उत्थानमा जागरण, शिक्षा, आर्थिक क्षेत्रमा समान सहभागिताजस्ता क्षेत्रमा पहुँच प¥याई सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो । 

सामाजिक विभेद अन्त्यका लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रम स्थानीय तहमा पु¥याउने र समुदायस्तरका छलफलबाट प्राप्त सुझाव नीतिगत तहमा ल्याउन सबैको सार्थक प्रयास आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । समाजमा कायमै रहेको असमानाताको अन्त्य गर्न आवश्यक नीति र कानुनको निर्माण गर्दै प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

देवीसरा हन्ना वादीलगायत पाँच वादी समुदायका महिलाका बारेमा लेखिएको पुस्तक गत जनवरी ३१ मा भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो । अमेजनमा फेब्रुअरी १ मा सो पुस्तक सबैभन्दा धेरै बिक्री हुनेमा समेत परेको पुस्तककी लेखिका ट्रेसीले बताउनुभयो । पुस्तकले वादी समुदायकी भएकै कारण हामीले समाजमा भोग्नुपरेको असमानता र पीडा पुस्तकले चित्रण गरेको पुस्तका मुख्यपात्र देवीसरा वादी बताउनुहुन्छ ।

 ‘ज्योतिको घर नेपाल’ नामक संस्थाले वादी समुदायको उत्थानमा महत्वपूर्ण योगदान गर्दै आएको छ । संस्थाले लामो समयदेखि वादी समुदायमा रहेको परम्परागत समस्या समाधानमा विशेष पहल गर्दै आएको यसका संस्थापक राजु सुन्दासले बताउनुभयो । 

आइतबार​ २२ फागुन २०७८ ०८:३९ PM मा प्रकाशित

प्रतिक्रिया