काठमाडौं । नबिल बैंकको खुद नाफा १० प्रतिशत बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशत बढी हो । वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल बनेको छ ।
बैंकले १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकको ब्याज आम्दानी १७ अर्ब ७४ करोड रुपैयाँ थियो । यस्तै, बैंकले गत आवमा ४ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको कर्जा लगानी र निक्षेप बढेको छ । गत असारसम्म बैंकको जगेडा कोषमा २८ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । गत आवमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकले गत आवको नाफाबाट १४.२६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
नबिलको खुद खराब कर्जा १.०७ प्रतिशत र ग्रस एनपीएल ३.८५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २६.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२०.१६ रुपैयाँ रहेको छ । त्यस्तै, ६ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ५ अर्ब १९ लाख रुपैयाँ नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ। सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ। सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा १४९९.०४ प्रतिशत बढी हो। त्यस्तै, कुमारी बैंकको खुद नाफा समीक्षा अवधिमा ३४५.६७ प्रतिशत बढेको छ भने प्राइम कमर्सियल बैंकको २६७.१९ प्रतिशत र कृषि विकास बैंकको १७६.२३ प्रतिशत बढेको छ। यी बैंकहरुको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण परिमार्जन भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको देखिन्छ।
समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ। जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेको छ। त्यस्तै, नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ।
प्रतिक्रिया