×

अन्ततः नेपोली पनि पराजित

images

मिलान । युरोपेली क्लब फुटबलमा यसपल्ट अपराजित रहँदै आएको नेपोली पनि अन्ततः ढलेको छ । उसलाई इन्टर मिलानले इटालीको सिरी ए मा बुधबार १–० ले हराएको हो । खेलको ५६ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा एडिन जेकोले शक्तिशाली हेड गर्दै गोल गरेका हुन् । यस नतिजासँगै लिगमा नेपोलीको ११ खेलको जित यात्रामा पनि पूर्ण विराम लागेको हो ।

यो खेल जितेको भए, नेपोलीको स्थिति अझ मजबुत हुने थियो र दोस्रो स्थानमा रहेको एसी मिलानमाथि आठ अंकको अग्रता खोल्ने थियो । तर हारले लिग उपाधिको होड अझ खुल्ला भएको छ । इन्टर भने जितसँगै चौथो स्थानमा उक्लिन सफल रह्यो । उता इंग्लिस प्रिमियर लिगमा भने टोटनहमले बुधबार क्रिस्टल प्यालेसलाई सजिलै ४–० ले हराएको छ ।

त्यसमा इंग्लिस कप्तान ह्यारी केनले दुई गोल गरे भने म्याट डोहर्टी र सन ह्वेङ–मिनले गोल गरे । यो जितपछि टोटनहमको ३३ अंक भएको छ र पाँचौं स्थानमा रह्यो । लयमा फर्केको नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० ले हरायो र रेलिगेसन क्षेत्र छाड्यो । फरेस्टको १७ अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ । यस्तै लिड्स युनाइटेड र वेस्ट ह्यामले २–२ तथा एस्टन भिल्ला र उल्भ्सले १–१ को बराबरी खेले । 
 

बिहीबार २१ पुस २०७९ ०८:५० AM मा प्रकाशित

प्रतिक्रिया