काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउसो १ बजेदेखि बस्ने भनिएको छ ।
यसअघि शुक्रबार र आइतबार बस्ने भनिएको बैठक महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो ।
महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए आफु बैठकमा सहभागी नहुने चेतावनी दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए । यस बीचमा भएका पटक पटक भएका अनौपचारिक छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिको बैठकमा महाधिवेशन बारे दुई किसिमका प्रस्ताव पेश गर्ने तयारी भएको बुझिएको छ ।
काँग्रेसको संस्थापन पक्षले फागुन २१ को निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने महामन्त्रीद्वयसहितका नेताहरु सकेसम्म छिटो महाधिवेशन गर्ने पक्षमा रहेका छन् ।
त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ ।
प्रतिक्रिया