फलेन्द्र बलम्पाकी मगर / दुबई
अगस्ट -०४ युएई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन, यूएई ) तथा आबद्ध जातीय संस्थाहरूको संयुक्त आयोजनामा ३२औँ विश्व आदिवासी दिवस - २०२६ भव्य रूपमा मनाइने भएको छ। “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रममा यूएईमा रहेका सम्पूर्ण आदिवासी जनजाति तथा गैरआदिवासी नेपाली समुदायलाई सहभागी हुन कार्यक्रम संयोजक रोहित स्याङबो तामाङ ले हार्दिक निमन्त्रणा गरेको छ।
उक्त दिन नेफिन यूएईका अध्यक्ष भागरथि कुमार भगतले विश्व आदिवासी दिवस आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, मौलिक परम्परा र अधिकारप्रतिको साझा प्रतिबद्धता अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर भएकाले सबैलाई उत्साहपूर्ण सहभागिताका लागि अनुरोध गर्नुभएको छ।
उहाँले सहभागीहरूलाई आ–आफ्नो जातीय पहिचान झल्किने परम्परागत भेषभूषा, मौलिक परिकार, पुर्खाहरूले प्रयोग गर्ने ऐतिहासिक तथा सांस्कृतिक सरसामग्रीको प्रदर्शनी (स्टल) तथा सांस्कृतिक झाँकी सहित कार्यक्रममा उपस्थित भई समारोहको गरिमा र आकर्षण बढाइदिन आग्रह गर्नुभएको छ।
भगत का अनुसार कार्यक्रममा विभिन्न जातीय समुदायको सांस्कृतिक प्रस्तुति, परम्परा र सांस्कृतिक सम्पदाको प्रदर्शनमार्फत नेपालका आदिवासी जनजातिहरूको विविधता, मौलिकता र एकताको सन्देश प्रवाह हुने मा विश्वसत रहेको जानकारी दिए ।
कार्यक्रम विवरण:
* मिति: ०९ अगस्ट २०२६
* समय: दिउँसो १२:०० बजे
* स्थान: SK7 को सभा हल, बर दुबई
संयोजक रोहित तामाङ ले यूएईमा रहेका सम्पूर्ण आदिवासी र गैर आदिवासी नेपाली समुदायलाई समयमै उपस्थित भई ३२औँ विश्व आदिवासी दिवस - २०२६ लाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन सहयोग गरिदिन अनुरोध गरेको छ।
प्रतिक्रिया