×

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा १०६ जनाले दिए उजुरी

images

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।

अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।
उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ। विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्।

उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यद्यपि, योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो। घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए। त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए।

उनीहरुकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो।

बिहीबार २१ बैशाख २०८० ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया