×

पाँच घण्टा भन्दा कम सुत्नेमा यस्ता जोखिम देखिनसक्छ

images

काठमाडौं । एक अध्ययनका अनुसार यदि तपाइँ ५० वर्ष भन्दामाथि उमेरको हुनुहुन्छ र कम्तिमा पाँच घण्टा सुत्नुहुन्न भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ । कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने अध्ययनले देखाएको छ ।

स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्न सक्छ । र राम्रो निद्रा नपाउनु कुनै खतराको संकेत हुन सक्छ । निद्राले सम्झन, दिमागलाई ताजा राख्न र आराम गर्न मद्दत गर्दछ ।  पीएलओएस मेडिसिन अध्ययनले बेलायती निजामती कर्मचारीहरूको स्वास्थ्य र निद्रा ट्र्याक गरेको थियो ।

यस अध्ययनमा आठ हजार मानिसहरूलाई एक हप्तामा कति औसत कति घण्टा सुत्नुहुन्छ भनेर सोधिएको थियो । कतिपयले यसका लागि स्लिप वाच पनि प्रयोग गरेका थिए ।

त्यही समय तिनीहरूको पुरानो (दीर्घकालीन) रोगहरूको समेत अनुसन्धान गरिएको थियो । उनीहरुसँग मधुमेह, क्यान्सर, हृदय रोग जस्ता धेरै रोगहरूको जाँच गरि र झण्डै दुई दशकको विवरण लिइएको थियो । ५० वर्षको उमेरमा पाँच घण्टा वा कम सुत्ने मानिसमा सात घण्टा सुत्ने मानिसको तुलनामा रोगको जोखिम ३० प्रतिशत बढी हुने गरेको पाइएको छ ।

अध्ययनका क्रममा ५० वर्षको उमेरमा कम सुत्दा मृत्युको जोखिम बढेको पनि खुलासा भएको छ । यो जोखिम मुख्यतया पुरानो रोगहरुको कारण बढ्छ । युनिभर्सिटी कलेज लन्डन र पेरिस सिटी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार विशेषज्ञहरूले सामान्यतया सात वा आठ घण्टा सुत्न सिफारिस गर्छन् ।

यसबारेमा वैज्ञानिकहरूले निश्चित रूपमा केही बताउन सकेका छैनन्, तर एउटा कुरा प्रष्ट छ कि राम्रो निद्राले चीजहरू सम्झन, खुसी मुड, एकाग्रता र मेटाबोलिज्ममा मद्दत गर्छ । सरे स्लीप सेन्टरका निर्देशक प्रोफेसर डर्क–जोन डिज्को भन्छन्, ‘यस अध्ययनका अनुसार पर्याप्त घण्टा नसुत्नु हाम्रो स्वास्थ्यको लागि राम्रो होइन । तर केही मानिसहरूको लागि यो ठीक हुन सक्छ ।’

‘यहाँ अर्काे ठूलो प्रश्न यो हो कि किन केही मानिसहरू कम सुत्छन् । यसको पछाडि कारण के हो र यसलाई ठीक गर्न केहि गर्न सकिन्छ ? निद्रा जीवनशैलीसँग सम्बन्धित कुरा हो, जसलाई केही हदसम्म परिवर्तन गर्न सकिन्छ ।’

यदि हामीले लामो समयसम्म राम्रो निद्रा पाउँदैनौं भने यसले हाम्रो स्वास्थ्यमा निकै नराम्रो असर पार्न सक्छ । निद्राको चक्की सेवन नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् किनभने यसले स्वास्थ्यमा नकारात्मक असर मात्रै गर्दैन, निद्रामा निर्भरता पनि बढाउँछ। निद्राको समस्या समाधान गर्न सकिन्छ र यसका लागि आवश्यक सहयोग पनि लिन सकिन्छ ।

यी उपाय अपनाएमा राम्रो निन्द्रा पाउन सकिन्छ :
– दिनको समयमा आफूलाई व्यस्त राख्नुहोस्, आफैलाई थकाउनुहोस् र बेलुका सुस्तरी काम गर्नुहोस् ।

– दिनको समयमा नसुत्ने

– सुत्ने ठाउँ आरामदायक र सफा बनाउने । स्मार्टफोनलाई आफूबाट टाढा राख्ने ।

– क्याफिन र रक्सीको मात्रालाई बेवास्ता गर्नुहोस् वा कम गर्नुहोस् ।

– यदि तपाईं सुत्न सक्नुहुन्न भने, आफैलाई सुत्न दबाब नदिनुहोस् । ओछ्यानबाट उठेर किताब वा केही पढ्ने जस्ता आरामदायी कुराहरू गर्नु राम्रो हुन्छ । त्यसपछि जब तपाईं निदाउन थाल्नुहुन्छ, ओछ्यानमा फर्कनुहोस् ।

–यदि तपाइँ सिफ्टमा काम गर्दै हुनुहुन्छ जुन दिनचर्या अनुसार उपयुक्त छैन भने, सिफ्ट भन्दा पहिले केहीबेर सुत्ने प्रयास गर्नुहोस् । (बीबीसीबाट साभार)

मङ्गलबार २१ चैत २०७९ ०७:०५ AM मा प्रकाशित

प्रतिक्रिया