निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका सम्बन्धमा राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि प्रतिबद्धता लिने भएको छ ।
आयोगले निर्वाचनमा भाग लिने ७९ दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारीबारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो ।
निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई मङ्गलबार हुने छलफलका लागि ११ः३० बजे आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।
आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो । सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरुबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।
प्रतिक्रिया