×

रघुगङ्गामा टेलिकमको सेवा विस्तार

images

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेका दुर्गम बस्तीमा नेपाल टेलिकमको सेवा विस्तार गरिएको छ । सेवा विस्तारपछि मोबाइल फोनका लागि अग्ला डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता हटेको छ । 

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायीरूपमा विद्युत्को पोलमा बिटियस जडान गरेर सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले जानकारी दिनुभयो । “तत्कालका लागि बिजुलीको पोलमा उपकरण जडान गरेका छाँै, टावर निर्माणका लागि ठेक्का लगाइसकिएको छ, फाउण्डेशनको काम पनि सकिएको छ, छिट्टै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ”, उहाँले भन्नुभयो ।   

समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना छ । तत्कालका लागि टुजी र थ्रिजीमार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा आउने रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो ।  उपकरण राख्न गाउँपालिकामार्फत टावर परिसरमा भवन निर्माण भइसकेको छ । 

टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामुनी, नगलडाँडा, कुइनेमङ्गलेको मङ्गलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानीलगायतका दुर्गम बस्तीमा मोबाइल फोनको सहज पहुँच पुगेको छ । दुर्गम बस्तीमा मोवाइलका लागि नेटवर्क खोज्दै अग्डा डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता अब हटेको रितुङ मावि कुइनेमङ्गलेका शिक्षक याम घर्तीले बताउनुभयो । “सञ्चार सेवा नहुँदा निकै कठिनाइ झेल्दै आउनुपरेको थियो, अब अधिकांश बस्तीमा घरमै मोबाइल फोन  प्रयोग गर्न पाइएको छ”, उहाँले भन्नुभयो ।

शुक्रबार​ २० जेठ २०७९ ०९:१२ AM मा प्रकाशित

प्रतिक्रिया