काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउसो १ बजेदेखि बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि शुक्रबार बस्नुपर्ने बैठक महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति हुन नसकेपछि बस्दैनबसी स्थगित भएको थियो ।
महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए आफु बैठकमा सहभागी नहुने चेतावनी दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए ।
यस विषयमा छलफल गर्न शनिबार कांग्रेस पदाधिकारी बैठक बसे पनि सहमति जुट्न नसकेको बताइएको छ । आजको बैठक अघि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।
कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने व्यवस्था रहेको छ ।
त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ ।
प्रतिक्रिया