काठमाडौं । २०७८ मंसिर दोस्रो साता सम्पन्न नेपाली कांग्रेस १४औँ महाधिवेशनबाट भारी मतले महामन्त्रीमा गगनकुमार थापा विजयी भए ।
गगन विजयी हुनु पहिले नै पार्टीमा स्वच्छ छवि र स्पष्ट वक्ता एवं युवा नेताको रूपमा चिनिन्थे । उनी कांग्रेसमा मात्रै नभएर अन्य पार्टीमा पनि त्यसरी नै चिनिछन् ।
पार्टीमा निर्णय गर्न सक्ने पदिय दायित्व र जिम्मेवारीसहितको अख्तियारी पाएका थापा नेता डा.शेखर कोइरालाको विश्वास पात्र हुन् । शेखर–गगन पार्टीमा संस्थापनइतर समूहको रूपमा चिनिन्छन् । यी दुवै नेताले पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
उक्त महाधिवेशनमा डा.शेखर वर्तमान सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी थिए । यद्यपि उनी सभापतिमा पराजित भए पनि पार्टीका अनेकन् निर्णयमा उनको भूमिकालाई कांग्रेसले नकार्न सक्दैन ।
उनी पार्टीका शीर्षस्थ नेताहरूले कुनै गैरजिम्मेवार निर्णय गरेमा त्यसको हस्तक्षेप गर्न पछि पर्दैनन् । स्वयम् पार्टी सभापति देउवालाई भेटेरै दबाब दिन्छन् भने विरोध तुरुन्तै उत्रिन्छन् ।
उनकै साथ पाएका गगन पार्टीमा लोकप्रिय त छँदैछन् । उनलाई अन्य पार्टीका नेताहरूले पनि वखान गर्छन् । पार्टीका कार्यक्रममा होस् वा कुनै सार्वजनिक कार्यक्रमा किन नहोस् ।
गगन निर्धक्क र निर्भीक भएर आफ्ना अभिव्यक्ति मुखरित गर्न सक्छन् । उनको यहीँ विशेषताका कारण एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपा लगायतका अन्य थुप्रै पार्टीमा उनको चर्चा हुने्गर्छ ।
तर, गगन चर्चित युवा नेता हुँदाहुँदै पनि आलोचनाबाट भने मुक्त हुन सकेका छैनन् । विगतका कमजोरीलाई औँल्याउँदै उनका विरोधीहरूले विरोध गर्ने गरेको पाइन्छ । विवादास्पद अभिव्यक्तिकै कारण बेलाबेला चर्को आलोचना पनि सहनु परेको छ, गगनले ।
तथापि उनी विभिन्न सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय छन् । उनका फ्यान–फ्लोर्स लाखौँको संख्यामा छन् । पार्टी तथा अन्य कुनै सार्वजनिक कार्यक्रम, सभा–सम्मेलनमा उनले दिएको अभिव्यक्ति सञ्चार माध्यममा क्षणभरमै सम्पादन तथा प्रकाशन हुन्छ ।
उल्लेख्य समर्थक र सामाजिक सञ्जालको उक्साहटमा कहिलेकसो पार्टीको निर्णयविपरीत बोल्ने गरेको पनि पाइन्छ । इसञ्चारपाटीले यसअघि पार्टीको निर्णयविपरीत बोल्नु जायज हो ? भनेर गगनलाई प्रश्न गरेको थियो ।
जवाफमा उनले भने– ‘लोकतन्त्रमा अलोचनात्मक चेत हुन जरुरी छ । पार्टीले गरेको निर्णय सर्वमान्य हुनुपर्छ । कोही कसैको इन्ट्रेष्ट र अमुख नेताका लागि निर्णय गरिनु जायज होइन । यदि त्यसो हो भने विरोधमात्रै होइन, विद्रोह हुन्छ । यसर्थ पार्टीको हितका लागि निर्णय गरिनुपर्छ ।’
त्यस्तै महामन्त्रीमा निर्वाचित भएलगत्तै गगनले पार्टी गुटरहित बनाउने अभिव्यक्ति दिएका थिए । तर, त्यसको केही महिनामै उनले डा.शेखर कोइरालासँग मिलेर कसिलो गुट निर्माण गरे । हुन त महाधिवेशन अगावै उनीहरूको गुट त छँदै थियो । महाधिवेशन पछि झन् बलियो बनेको छ ।
उक्त गुटमार्फत उनीहरूले छुट्टाछुट्टै भेला तथा बैठक गर्दै आएका छन् भने पार्टीमा ४० प्रतिशत भाग पाउनुपर्ने परोक्ष माग राख्दै आएको संस्थापन पक्षका नेताहरू बताउँछन् ।
१४औँ महाधिवेशन यता थप बलियो र लोकप्रियता कमाएका उनलाई शक्तिको मात लागेको कांग्रेस संस्थापन पक्षका एक नेता बताउँछन् । उनी भन्छन्– ‘महामन्त्रीज्यू स्वभावैले युवा हुनुहुन्छ, उहाँका समर्थक र फ्यान–फ्लोर्स पनि टन्नै छन् । त्यहाँबाट पनि उहाँलाई सल्लाह, सुझाव र दबाब आउँछ होला । पार्टीको उहाँ जिम्मेवार पदमा हुनुहुन्छ । निर्णय गर्ने सक्ने क्षमता पनि राख्नुहुन्छ । तर, कहिलेकसो पार्टीले एउटा निर्णय गर्छ । उहाँ बाहिर आएर चित्त नबुझेझैँ गर्नुहुन्छ । सभापति, महामन्त्री लगायतका अन्य पदाधिकारी बसेर गरेको निर्णयविपरीत बोल्नुहुन्छ । यो उहाँको शक्तिको मात जस्तो लाग्छ, मलाई । किनकि निर्णयकर्ता उहाँ पनि हुनुहुन्छ । फेरि बाहिर आएर निर्णयविपरीत टिप्पणी गर्नुहुन्छ ।’
त्यस्तै अर्का पार्टी केन्द्रीय सदस्य तथा संस्थापनइतर पक्षकै नेता गगनप्रति असन्तुष्ट देखिन्छन् । ‘२०७९ पुष ५ मा कांग्रेस संसदीय दलको नेतामा शेखरज्यूलाई उम्मेदवार गराउने छलफल भयो । त्यसको केही घण्टामै गगनजीले उम्मेदवारी दिनुभयो । यसले हाम्रो पक्षको राम्रो सन्देश त गएन । तर, उहाँको मात छर्लङ्गै देखियो,’ उनी भन्छन्, ‘यस्तो महोत्वकांक्षाले केहीहद राम्रो भएपनि दीर्घकालीन असर गर्ला कि भन्ने हामीलाई चिन्ता छ । यति हुँदाहुँदै पनि उहाँ संस्थापनइतर पक्षको उर्जाशील युवा सांसद, महामन्त्री तथा नेता हुनुहुन्छ ।’
पार्टीको निर्णय गर्नुपूर्व नेता शेखरले गगनलाई सुझाव दिए पनि नटर्ने गरेको संस्थापनइतर पक्षकै केही नेता बताउँछन् । ‘अभिभावक जस्तो शेखर दाइको सुझाव नमान्नुले हामीहरूलाई कताकता खल्लो महसुस हुन्छ,’ भन्छन्, ती नेताहरू ।
संस्थापन पक्षका एक सांसद भन्छन्– ‘गगनजी पार्टीको निर्णयप्रति प्रायः असन्तुष्टि पोख्नुहुन्छ । मलाई आश्चार्य लाग्छ, सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा–विश्वप्रकाश शर्मा लगायतका पार्टी पदाधिकारी मिलेर निर्णय गर्नुहुन्छ । फेरि बाहिर आएर यो निर्णय स्वीकार्दिन भन्दै अभिव्यक्ति दिनुहुन्छ । कार्यान्वयनमा लैजाँदा विरोध गर्नुहुन्छ । यो उहाँको अर्घेल्याइँ मात्र हो । यसबाट पार्टीलाई र उहाँलाई भलो होला जस्तो लाग्दैन ।’
संस्थापनइतरले भने पार्टीको निर्णय गर्दा संस्थापन पक्षले एक्लौटी र पार्टी नै कब्जा गरेको भन्दै असन्तुष्टि पोख्दै आएको छ । केही समयअघि देउवा र शेखरबीच भेटवार्ता भएको थियो । भेटमा पार्टीको महत्वपूर्ण निर्णय तथा राजकीय पदका लागि आफ्ना नेतालाई सिफारिस नगरे देउवासँग संवादसमेत बन्द गर्ने शेखरले चेतावनी दिएका छन् ।
प्रतिक्रिया