×

उच्च शिक्षालाई योभन्दा माथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित छाैँ : मन्त्री पाैडेल

images

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । 

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विश्वविद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने उहाँकाे भनाइ थियाे । 

मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्नेबारेमा विज्ञहरूसँग मन्त्रालयले छलफल गरिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नेपालमा उच्च शिक्षालाई योभन्दा माथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ । विदेशमा विद्यार्थी जाने लहर चलेको छ । सरकार शिक्षा मन्त्रालय गम्भीर छ । रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा । हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटि हो । अरू देशका विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्छ । शिक्षाविना केही राम्रो हुँदैन । शिक्षा सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ । विश्वविद्यालयमा ताला नलगाऔँ, विश्वविद्यालय तालामुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ ।’

कार्यक्रममा बाेल्दै मन्त्री पाैडेलले शङ्करदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक ठाउँ उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । शैक्षिक संस्थाहरूको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको उहाँकाे भनाइ थियाे । 

शुक्रबार​ १७ भदौ २०७९ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया