काठमाडौं। आजदेखि देशभरका आन्तरिक गन्तव्यको हवाई भाडा करिव दोब्बरले बढेको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव र मूल्य बढेसँगै आन्तरिक उडानको भाडा उल्लेख्य रूपमा वृद्धि भएको हो। इन्धन मूल्यमा आएको ठूलो वृद्धिका कारण हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ बढ्दा यात्रुहरूले आजदेखि पहिलेभन्दा धेरै रकम तिर्नुपर्ने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्धन मूल्य वृद्धिसँगै विभिन्न आन्तरिक रुटको भाडादर समायोजन हुँदा काठमाडौं–धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ भने न्यूनतम भाडा १४ हजार ४ सय ५७ रुपैयाँ कायम गरिएको छ । यसअघि उक्त रुटमा इन्धन शुल्क ५ हजार ६ सय १० रुपैयाँ रहेको थियो। तर नेपाल आयल निगमले मंगलबारदेखि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँबाट बढाएर २ सय ५१ रुपैयाँ पुयाएपछि फ्युल सर्चार्ज बढेर ११ हजार ९० रुपैयाँ पुगेको छ।
नयाँ भाडादर अनुसार काठमाडौं–माउन्टेन रुटको न्यूनतम भाडा ११ हजार ३ सय ४२ रुपैयाँ र अधिकतम १८ हजार २६ रुपैयाँ पुगेको छ। काठमाडौं-भद्रपुर रुटमा न्यूनतम ९ हजार ९८९.२ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै काठमाडौं–विराटनगर रुटको न्यूनतम भाडा ८ हजार ८८.९ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ भने काठमाडौं–जनकपुर रुटमा न्यूनतम ५ हजार ५ सय ६५ रुपैयाँ र अधिकतम ७ हजार ७० रुपैयाँ तोकिएको छ।
काठमाडौं–पोखरा रुटको भाडा न्यूनतम ५ हजार १५ रुपैयाँ र अधिकतम ८ हजार ६ सय ५ रुपैयाँ पुगेको छ। यसैगरी काठमाडौं-भैरहवा रुटमा न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौं–नेपालगन्ज रुटको भाडा न्यूनतम १० हजार ८ सय रुपैयाँ र अधिकतम १७ हजार १ सय ४८ रुपैयाँ पुगेको छ भने काठमाडौं-तुम्लिङटार रुटमा न्यूनतम ६ हजार ३ सय २७ रुपैयाँ र अधिकतम ९ हजार ९ सय २० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सिमरा–धनगढी रुटको भाडा २६ हजार ३ सय ६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया