×

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री पोखरा जाँदै, चीनले दियो बधाई

images

काठमाडौं। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा जाने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।

यस्ता छन् कार्यक्रम

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौंबाट जाने यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्याली आयोजना गरिएको छ । र्यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उद्घाटनपश्चात दिउँसो २ बजेदेखि ४।०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ बजेदेखि ५ बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७देखि विमानस्थल निर्माण सुरु गरेको थियो । नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना साकार भएको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावासले बधाई दिएको छ । उसले भनेको छ, ‘यो नेपाल चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो, नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’

 

आइतबार​ १७ पुस २०७९ ०९:०८ AM मा प्रकाशित

प्रतिक्रिया