×

प्रचण्ड द्वारा संविधान च्यात्न खोज्नेहरूलाई परास्त गर्न एकजुट हुन आह्वान

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ५ वर्षभित्र गोरखाका सबै सडकमा रहेको धुलो र ढुंगाहरु सफा गर्ने प्रतिवद्धता जनाएका छन् । गोरखामा २ का आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले उनले आफूले चुनावी प्रचारको क्रममा ढुंगाको बीचमा ज्यान जोखिममा राखेर हिँड्न परेको बताउदै  यस्तो प्रतिवद्धता गरेका हुन् ।

प्रचण्डले भने- हिजोदेखि आजसम्म आउँदा माथि ढुंगैढुंगाको बीचको पहराबाट आउँदा डरलाग्दो बाटो हिँडे म। हिजो २२ वटा कार्यक्रममा धुलो र ढुंगाको बीचबाट ज्यान जोखिमजस्तो ठाउँबाट हिँडेर हिजो सभा भए । तल झरेपछि यहाँ राम्रो होला भनेको यहाँ पनि धुलो बाहेक केही पनि रहेनछ। 

अब पाँच वर्षभित्र गोरखाको धुलो र ढंगा पनि सफा गरिन्छ। साथै उनले आफु २०७४ सालमा चितवनबाट निर्वाचन लड्ने बेला त्यहाँका सडक पनि त्यस्तै धुलाम्मे रहेको र धुलो हटाएर पिच गर्ने भनेर आफुले गरेको प्रतिवद्धता पुरा भएको भन्दै गोरखामा पनि आगामी ५ वर्षमा सबै सडकमा धुलो र ढुंगा हटाएर पिच गर्ने बताएका हुन् । 

राजनीतिक क्रान्ति गोरखाबाटै सुरु गरेकाले आर्थिक समृद्धिको अभियान पनि गोरखाबाट सुरु गर्ने बताए। ‘म गोरखामा आओस् भन्ने चाहना हाम्रो पार्टी र यहाँको जनताको पनि भयो। सिराह, काठमाडौं, चितवनबाट चुनाव लड्दै गर्दा पार्टी गठबन्धन र यहाँको जनताको भरोसाले मलाई यहाँ खडा गरेको छ’ उनले भने, ‘बाबुरामजी र हाम्रो सपना भनेको देशको राजनीतिलाई सुदृढ गर्नु नै हो। जनताको अधिकारलाई सुनिश्चित गर्न आर्थिक क्रान्ति आवश्यक छ।’

मंसिर ४ को निर्वाचनमा प्रतिगमन विरुद्धको लडाइँ भएको समेत बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै संविधान च्यात्न खोज्नेहरूलाई परास्त गर्न एकजुट हुन आह्वान गरे।

‘ठुलो बलिदानपछि हामीले संविधानसभा प्राप्त गरेका थियौँ। तर, केही नेताहरूबाट त्यसलाई उल्टाउने प्रयास भयो। लोकतन्त्र र समावेशी संविधानलाई उल्ट्याउन खोजियो। त्यही संघर्षको बीचबाट यो गठबन्धन बनेको हो’ उनले भने, ‘हामीले यो गठबन्धनमार्फत देशलाई प्रतिगमनतर्फ जान खोज्नेलाई रोक्न सफल भएका छौँ। स्थानीय निर्वाचनबाट परास्त गरेपछि संविधान च्यात्न खोज्नेलाई आगामी निर्वाचनबाट परास्त गर्नुपर्छ।’

प्रचण्डले आफ्ना लागि गोरखा जिल्ला परिचित रहेको भन्दै अहिले गोरखाबाट विकास र समृद्धिको यात्रा सुरु गर्छौ भन्न पाउँदा विशेष गर्वको महशुस भएको बताए ।  उनले मंसिर चारको निर्वाचन प्रतिगमन र अग्रगमकारी बीचको लडाइका रुपमा रहेको भन्दै धेरै लामो संघर्ष र धेरै लामो बलिदानपछि संविधान बनेको भन्दै यसलाई प्रतिगमनकारीहरु अझै उल्ट्याउन लागिरहेको बताए । ‘आउने मंसिर चारको निर्वाचनमा निर्वाचनमा फेरि लडाई वा संग्राम हुँदैछ । हामी सबै त्यसमा विजयी हुनुछ । यो राष्ट्रको निम्ती, जनताको विजयको निम्ती र विकास र समृद्धिको निम्ति यो गठबन्धन विजयी हुनुपर्दछ’, प्रचण्डको भनाइ छ । 

आइतबार​ १३ कात्तिक २०७९ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया