×

सरकारले आयल निगमलाई पनि व्यापारीकाे हातमा दिने तयारी गरिरहेकाे नेता पाैडेलकाे आराेप

images

सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बाैँ रुपैयाँकाे आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ ।

६४ औँ संसद् दिवसको अवसरमा आज बिहीवार काठमाण्डाैमा भएकाे कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारमाथि याे आरोप लगाउनुभएको हो । उहाँले निगम व्यापारीको हातमा दिएर अर्बाैँ रुपैयाँ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चारमाध्यमहरूले अघि ल्याउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नु भयो, ‘आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइराखेकाे छ भन्ने सुनेकाे छु । त्याे चलखेलको पछाडि करोड होइन अर्बाैँ रुपैयाँ छ । अर्बाैँ कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि ।’

वरिष्ठ नेता पौडेलले किसानलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको गुनासाे गर्नुभयाे । 

वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराउनुभयो । ७० वर्ष सङ्घर्ष गरेर टुङ्गो लगाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरूले खोज्न नमिल्ने उहाँको भनाइ थियो । 

बिहीबार १६ असार २०७९ ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया