×

मुलुकको राजनीतिक परिवर्तन र समावेशी व्यवस्था निर्माणमा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक योगदान छ

images

 

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामप्रति आशंका व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विपक्षीहरू आक्रामक देखिँदैमा आफ्ना नेता तथा कार्यकर्ताहरू विचलित हुनुपर्ने वा विरोधीहरूसामु टाउको लुकाएर हिँड्नुपर्ने अवस्था नरहेको जिकिर गरे।

सम्बोधनका क्रममा नेता नेपालले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुईतिहाइ नजिकको सिट संख्यालाई एक अस्थायी ‘सुनामी’ को संज्ञा दिए। यो अप्रत्याशित परिणाम स्थायी नभएको टिप्पणी गर्दै उनले यस्तो नतिजा आउनुका पछाडिका कारणहरूको खोजी भइरहेको र ती विषयहरू समयक्रममा स्पष्ट हुँदै जाने विश्वास व्यक्त गरे।

चुनावका बेला सेना, सरकार र निर्वाचन आयोगको भूमिका कस्तो रह्यो तथा मतपत्र व्यवस्थापनको अवस्था के थियो भन्ने जस्ता कुराहरूमा प्रश्न उठिरहेको उल्लेख गर्दै उनले यी सबै रहस्य एक न एक दिन सार्वजनिक रूपमा खुल्ने दाबी गरे। उनले रास्वपाभित्रैबाट पनि अहिले विभिन्न विषयहरू बाहिर आउन थालेको टिप्पणी गरे।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राजनीतिक परिवर्तन र समावेशी व्यवस्था निर्माणमा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक योगदान रहेको स्मरण गरे।

वि.सं. २०४७ सालको संविधान निर्माणको समयदेखि नै राज्यका विभिन्न निकायमा महिला र दलित समुदायको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले नै मुख्य पहलकदमी लिएको उनले दाबी गरे। संविधानसभामार्फत संविधान निर्माण गर्दा महिलाको नेतृत्व र प्रतिनिधित्वलाई संस्थागत गर्न महत्वपूर्ण संवैधानिक व्यवस्था गरिएको उनको भनाइ थियो।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत राज्यका शीर्ष निकायहरूमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था आफ्नो राजनीतिक धारले नै अघि बढाएको उनले उल्लेख गरे।

वर्तमानमा निर्वाचित भएर आएका नयाँ दलका केही प्रतिनिधिहरूलाई लक्षित गर्दै नेता नेपालले उनीहरू मुलुकको राजनीतिक परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे पर्याप्त जानकार नरहेको टिप्पणी गरे।

विगतका राजनीतिक उपलब्धि र योगदानको रक्षा गर्दै आगामी दिनमा अझ दृढताका साथ अघि बढ्न आह्वान गर्दै उहाँले पार्टी पंक्तिलाई रक्षात्मक नबनी आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिए।


शनिबार १६ जेठ २०८३ ०९:०५ PM मा प्रकाशित

प्रतिक्रिया