×

कर्णालीमा ‘जनताको साथमा कांगे्रस’ अभियान

images

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउने उद्देश्यले कर्णाली प्रदेशमा ‘जनताका साथमा कांगे्रस’ अभियान सञ्चालन गरिएको छ । पार्टीको केन्द्रीय अभियानअन्तर्गत कर्णालीका १० वटै जिल्लामा अभियान सुरु भएको कांगे्रसले जनाएको छ । 

कांगे्रसका प्रदेश सभापति ललितजङ्ग शाहीले केन्द्रले खटाएका प्रतिनिधि सम्बन्धित जिल्लामा पुगेर अभियानको शुभारम्भ गरिसकेको जानकारी दिनुभयो । “केन्द्रीय प्रतिनिधि सम्बन्धित जिल्लामा पुगेर जिल्ला पार्टी नेतृत्वसँगको समन्वयमा बैठक, भेला, प्रशिक्षण, कार्यकर्ता भेटघाटलगायतका विभिन्न स्वरुपका कार्यक्रममा सहभागिता जनाइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “केन्द्रीय प्रतिनिधिसँगै प्रदेश समितिले पनि प्रदेशसभाका २४ वटै क्षेत्रमा प्रदेश कार्य समितिका सदस्यलाई प्रतिनिधिका रुपमा खटाएका छौँ, प्रदेश प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र जिल्ला कार्य समितिसँग समन्वय सहकार्य गर्दै अभियान सफल पार्न सहयोग गर्नुहुनेछ ।” यही भदौ १० गतेदेखि सुरु अभियान २४ गतेसम्म चल्नेछ । 

पार्टी केन्द्रले यहाँका आठ जिल्लामा यसअघि नै केन्द्रीय सदस्यलाई प्रतिनिधि तोकिसकेको थियो । त्यसअन्तर्गत सुर्खेतमा सञ्जय गौतम, दैलेखमा राजीवविक्रम शाह, जाजरकोटमा सीता राना, रुकुमपश्चिममा कृष्णकिशोर घिमिरे, सल्यानमा सीता देवकोटा खटाएको थियो । 

त्यस्तै कालीकोटमा जानकी सिंह, जुम्लामा रङ्गमती शाही, मुुगुमा कान्तिका सेजुवाल खटिनुभएको छ । हुम्लामा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहनुभएका मुख्यमन्त्री जीवनबहादुर शाही र डोल्पामा कर्णबहादुर बुढालाई नै केन्द्रीय प्रतिनिधिका रुपमा अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिएको बताइएको छ । 

कांगे्रस प्रदेश सभापति शाहीले निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउनुका साथै आम मतदातालाई अपिल गर्ने, कार्यकर्तामाझ जागरण ल्याउने उद्देश्यले अभियान सञ्चालन भएको बताउनुभयो । “समसामयिक विषयमा पार्टीको धारणा, कांग्रेस नेतृत्व भएका राम्रा कामका बारेमा जनतालाई बुझाउने अवसर हो”, उहाँले भन्नुभयो, “पार्टीका गतिविधि वडा÷टोलसम्म पुग्दैछन्, यसले नेता÷कार्यकर्तामा जागरण ल्याउने विश्वास लिएका छौँ ।”

 प्रतिकूल मौसमका कारण कर्णालीका कतिपय जिल्लामा आजदेखि अभियान सुरु भएको छ । सुर्खेत कांगे्रसका सचिव देवकुमार सुवेदीले सोमबारदेखि औपचारिकरुपले अभियान सुरु भएको बताउनुभयो । उहाँका अनुसार केन्द्रीय प्रतिनिधि गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कार्य समितिको बैठकले भदौ २४ गतेसम्मका लागि कार्यतालिका बनाएको छ । 
    
बैठकले भदौ २२ गते प्रतिनिधिसभा क्षेत्र नं २ को बाबियाचौर तथा २३ गते प्रतिनिधिसभा क्षेत्र नं १ को मेहेलकुनामा भेला आयोजना गर्ने र २४ गते प्रत्येक पालिकाले वडा, टोलटोलमा बिपी जयन्ती मनाएर अभियान समापन गर्ने निर्णय गरेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको दैलेखमा पनि आइतबारदेखि अभियान सुरु भएको छ । कर्णालीमा सङ्घका १२ र प्रदेशसभाका २४ क्षेत्र छन् ।

सोमबार १३ भदौ २०७९ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया