×

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

images

दोधारा चाँदनी, (कञ्चनपुर) ११ असोज : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । 

विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको अनेरास्ववियुका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिनुभयो । 

केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी दुई सङ्गठनसँग सहमति भएर यसअघि नै ताला खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको कारण ताला खुल्न सकेको थिएन । 

समाजवादी निकट अनेरास्ववियुका माग पूरा गर्ने सहमतिपछि आज विश्वविद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । “विद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको छ”, विष्टले भन्नुभयो, “ताला खुलेपछि विश्वविद्यालय प्रशासनको काम सञ्चालन भएको छ ।” 

बिहीबार ११ असोज २०८० ०६:३९ PM मा प्रकाशित

प्रतिक्रिया