×

नागरिकता दिन एमाले बाधक भयाे भनेर गठबन्धनले भ्रम फैलाउन खाेज्याे : अध्यक्ष ‌ओली

images

मुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैलाउने कोसिस सत्तारूढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । 

आज बिहीवार केन्द्रीय निर्वाचन परिचालन कमिटीकाे बैठकमा बाेल्दै उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभयो । नेकपा एमाले नागरिककाे हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रूपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव जित्नैपर्ने दोहोर्‍याउनुभयाे । देशकाे हितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र संवर्द्धनका लागि, देशको स्वाधीनताको सही ढङ्गले प्रयोग गर्नका लागि एमालेले आउँदाे चुनावमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँको तर्क थियो । 

आइतबार​ १२ भदौ २०७९ ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया