नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
आज सोमवार पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले पालिका चुनावमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र नाै लाख मत प्राप्त गरेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पालिका चुनावमा २८ प्रतिशत उम्मेदवार खडा गर्दा नाै लाख मत प्राप्त गर्याैँ । यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए योभन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्ने थियौँ । कम्तीमा पनि २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्नसक्ने थियौँ । २० लाखको सेरोफेरोमा मत प्राप्त गर्ने हो भने हाम्रो प्रतिनिधि सभा र प्रदेश सभामा केही सिटहरू सुनिश्चित हुनेछ । प्रत्यक्ष रूपमा लडेर जितेका ठाउँमा अतिरिक्त सिट हामीले हासिल गर्न सक्दछौँ ।’
अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले विश्व शक्तिराष्ट्रहरूका बीचमा द्वन्दका खतरा देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली नागरिकमा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्तिराष्ट्रहरूको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने तर्क गर्नुभयाे । देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त नागरिकलाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको उहाँकाे भनाइ छ ।
उहाँले पार्टीको काममा सक्रियपूर्वक लाग्न र गरेका कामको प्रचारप्रसार गर्न पनि निर्देशन दिनुभयो ।
प्रतिक्रिया