×

देश र जनताकाे पक्षमा बजेट ल्याउँदा किन विराेध ? राजीनामा दिन्नँ : अर्थमन्त्री

images

अर्थ मन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आउँदो आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । 

आज सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले आउँदो बजेट देश र जनताको पक्षमा ल्याएका कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । मन्त्री शर्माले आउँदो बजेट अर्थ मन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदको सुझावको आधारमा ल्याएको दाबी गर्नुभयो । उहाँले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचकाङ्क वृद्धि गर्ने अङ्क नै बजेटमा समावेश गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेटमा यति प्रतिस्थापन गर्ने, यति गरिबी हटाउने, मानव सूचाङ्क यति वृद्धि गर्ने भनेर तोकिएको छ । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुनेबाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । सही थियो कि गलत थियो त्यति बेला पुष्टि हुनेछ । यति बेला मैले भन्न सक्ने कुराहरु होइन । यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्ने छ ।’

अर्थ मन्त्री शर्माले करका दर घटाउने र बढाउने विषय अर्थ मन्त्रीको क्षेत्र अधिकारको भएको बताउनुभयो । उहाँले अर्थ मन्त्रीले बजेट नल्याएर, करका दरलाई घटबढ नगरेर अरू के गर्नुपर्ने थियो ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले करको दर आवश्यकताअनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गर्नुभयो ।

मन्त्री शर्माले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता, गरिबी कम गर्ने र व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउने अर्थ मन्त्री अनैतिक नहुने बताउनुभयो । 

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानुनहलाई राम्रो बनाउने र सँगै आम नागरिकलाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताउनुभयो । 

सोमबार १३ असार २०७९ ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया