गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहायता एमसीसी नेपालकै प्रस्तावमा आएको दाबी गर्नुभएको छ । आज बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो ।
गृहमन्त्री खाणले एमसीसी प्रस्ताव पास हुनु नेपालका लागि ज्यादै ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस परियोजनाले नेपालमा गरिबी निवारण र रोजगारी अभिवृद्धिका लागि ठूलाे सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम–बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम–बारुद र सेना नआउने जिकिर गर्नुभयो ।
गृहमन्त्री खाणले पूर्ववर्ती सरकारले झन्डै चार वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयाे, ‘यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्छ । यो ऋण हुँदै होइन, अनुदान हो । नेपालका लागि सहयोग हो । संयुक्त राष्ट्र सङ्घमा उठेको बहसलाई सम्बोधन गर्ने क्रममा यो सहयाेग प्रदान गरिएको हो ।’
गृहमन्त्री खाणले अहिले नेपालमा अर्थतन्त्रको समस्या रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई उकास्न पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतीय साधनमा जोड दिनुपर्ने बताउनुभयो । गृहमन्त्री खाणले नेपालको अर्थतन्त्रलाई उकास्न र पेट्रोलियम पदार्थको आयातलाई कम गर्न एमसीसी कोशेढुङ्गा साबित हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया