काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबिएस) प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएपछि गृह मन्त्रालय र शिक्षा मन्त्रालयको समन्वयमा दुई जनालाई नियन्त्रणमा लिएर कानुनी अनुसन्धान अघि बढाइएको छ। आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले परीक्षाको मर्यादा र गोपनीयता भङ्ग गर्ने शैक्षिक अपराधमा संलग्न जोसुकैलाई पनि हदैसम्मको कानुनी कारबाही गरिने स्पष्ट पार्नुभएको छ।
मन्त्री पोखरेलले यो घटना सार्वजनिक हुनासाथ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग समन्वय गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई तत्काल परिचालन गरिएको जानकारी दिनुभयो।
परीक्षा सुरु भएको ५ मिनेटमै कसरी बाहिरियो प्रश्नपत्र?
गएको साउन ८ गते मध्याह्न १२:०० बजे देशभरका क्याम्पसहरूमा एमबिएस प्रथम सेमेस्टरको 'अर्गनाइजेसनल बिहेभियर' (MGT 515) विषयको परीक्षा सञ्चालन भइरहेको थियो।
शिक्षामन्त्रीको 'र्यापिड एक्सन' र दुई जना पक्राउ
यो गम्भीर प्राविधिक र शैक्षिक अपराध सार्वजनिक भएपछि शिक्षामन्त्री पोखरेलको कडा निर्देशनमा प्रहरीको उच्च प्राविधिक टोलीले डिजिटल फुटप्रिन्टको विश्लेषण गर्दै २४ घण्टाभित्रै मुख्य आरोपित 'सुलभ सर' सहित दुई जनालाई पक्राउ गर्न सफल भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ पर्नेमा त्रिवि बाहिरका शिक्षक समेत संलग्न रहेको खुलेको छ।
मन्त्री पोखरेलले भन्नुभयो, "विगतमा छानबिन समिति मात्रै गठन गरेर दोषीलाई उन्मुक्ति दिने परिपाटी थियो, तर यसपटक शैक्षिक सुशासन विरोधी क्रियाकलापमा शून्य सहनशीलता (Zero Tolerance) अपनाइनेछ। प्रश्नपत्र सुरक्षामा लापरवाही गर्ने विश्वविद्यालयका आन्तरिक संयन्त्रमाथि पनि छानबिन हुनेछ।"
त्रिविद्वारा उच्चस्तरीय छानबिन समिति गठन
यसैबीच, त्रिवि व्यवस्थापन सङ्काय डिनको कार्यालयले पनि यस घटनाको सत्यतथ्य पत्ता लगाउन व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सहप्राध्यापकद्वय डा. पुष्कर रैखला र डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई कार्यभार सम्हालेको ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले पनि परीक्षा प्रणालीको विश्वसनीयतामाथि धक्का पुगेको भन्दै दोषीलाई तत्काल कारबाही नगरे डिन र सहायक डिनको राजीनामा माग्दै आन्दोलन गर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया