नेशनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलीलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका कांग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।
धर्नास्थल विजय चोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला गान्धीलाई हिरासतमा लिइएको हो । नेता गान्धीसहित अन्यलाई पनि पक्राउ गरेर पार्लियामेन्ट स्ट्रिटमा रहेकाे प्रहरी कार्यालयमा राखिएको छ । ईडीले शक्तिको दुरुपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकाेमा कांग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।
‘बढ्दो महँगी र बेरोजगारीका बारेमा संसदमा बोल्न पाइँदैनँ, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ’, प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भन्नुभएकाे छ । पार्टीका धेरै सांसदलाई पनि गान्धीसँगै पक्राउ गरिएको छ ।
प्रतिक्रिया