×

निर्माणाधीन संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

images

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उनले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।

‘पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएको छ, उक्त समयभित्रै निर्माण सम्पन्न गर्न गम्भीर भएर काम गर्नुपर्छ,’– मन्त्री घिसिङले भने ।

‘जेनजी’ प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा क्षति पुगेको छ । त्यसैले पनि राष्ट्रियसभा बैठक बसाल्न पनि समस्या भइरहेको छ । ‘पूरानो संसद् भवनमा जेनजी प्रदर्शनका क्रममा आगजनी भएर क्षति पुगेको छ । राष्ट्रियसभा बैठक चलाउनुपर्ने छ,’– उनले भने, ‘आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक पनि बस्नुपर्छ । हाल क्षतिग्रस्त संसद् भवनलाई बैठक सञ्चालन योग्य बनाउन समय लाग्छ । त्यसैले नयाँ संसद् भवन छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ ।’

त्यसक्रममा ठेकेदार प्रतिनिधिले हालसम्म ८७ प्रतिशत काम सम्पन्न भएको र भवनभित्र ‘फिनिसिङ’को काम चलिरहेको जनाएका थिए । कतिपय निर्माण सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा केही ढिलाइ भएको जनाउँदै ठेकेदार कम्पनीले बाँकी काम आगामी पुस १६ गतेसम्म सम्पन्न गर्नेगरी आफूहरू लागिरहेको बताएका थिए । सिंहदरबार परिसरभित्र १५७ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ ।

शनिबार ९ कात्तिक २०८२ ०७:४३ PM मा प्रकाशित

प्रतिक्रिया