×

गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल, माओवादीले ६० सिट र १ सय सिट कांग्रेसको दाबी

images

काठमाडौं । आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल हुने देखिएको छ । गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि बिहीबार आज शीर्ष नेताहरु बैठक बसेको थियो । 

तर शीर्ष नेताहरुको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ । बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको एक नेताले जानकारी दिए ।

अब कार्यदलको बैठकमै थप पहल गर्ने र शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । शीर्ष नेताको बैठकले अघिल्लो संसदीय चुनाव र गएको वैशाखमा भएको पालिका चुनावको जिल्लागत प्रतिवेदन पेस गर्न पनि कार्यदललाई निर्देशन दिएको छ ।

एक नेताका अनुसार बैठकमा नेपाली कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ । आजको बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले १ सय सिट कांग्रेसले पाउनुपर्ने दाबी गर्नुभएको छ ।

तर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ८० देखि ९० सिटसम्म दाबी गर्ने हिसाबले कुरा गरेको स्रोतले जनाएको छ । माओवादीले पहिले जितेको ठाउँमा स्वतह सम्बन्धित दलले नै टिकट पाउने र माओवादीले जितेको ठाउँमा भागबण्डा गर्नुपर्ने मागलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ ।

बिहीबार ९ भदौ २०७९ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया