×

सरकार र गठबन्धनप्रति नारायणकाजीकाे आक्राेश : नागरिकता विधेयक यसरी ल्याउन मिल्छ ?

images

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत ढङ्गले नागरिकता विधेयक प्रतिनिधि सभाबाट सरकारले र सत्तारूढ गठबन्धनले पारित गराएकोमा सत्तारूढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नुभयो । 

आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले याे विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको भन्दै गुनासो गर्नुभयो । दलहरूमा वैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरवस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले विधेयक पारित गर्नुअघि नै राखेको छु, राष्ट्रिय सभामा बोलेको छु त । आफ्नो पार्टीमा पनि राखे । त्यो पारित भएपछि किन गलत छ भनेर मैले सार्वजनिक बहस गरिसके । वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हुँदै गएको समस्या हो ।’

नेता श्रेष्ठले दलहरूले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढ्ने गरेकाले पनि देशकाे राष्ट्रियता खतरामा पर्दै गएको बताउनुभयाे । 

आइतबार​ ८ साउन २०७९ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया