काठमाडौं। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आज टिप्पणी गरेका छन्।
शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिरसमेत गरे। उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा समेत गरे।
‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजीराखेको थिएँ,’ उनले भने, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौं गइ सकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु।’
गृहमन्त्री लेखकले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने उल्लेख गरेका छन्।
यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने केही कुरा छैन । मैले जीवनभरी राजनीति गरेर कुनैपनि पार्टीको मन सानो हुने र टाउको निहुराउने काम गर्दिनँ,’ गृहमन्त्री लेखकले भने, ‘जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ ।’
प्रतिक्रिया