×

कैलालीका पालिका : पदभार ग्रहणसँगै महत्वपूर्ण निर्णय

images

कैलालीका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । जनप्रतिनिधिले पदभार ग्रहणसँगै पालिका विकासका लागि महत्वपूर्ण निर्णय गरेका छन् । कैलालीमा एकमात्र महिला प्रमुख रहेको लम्कीचुहा नगरपालिकाले छोरी जन्माउने आमालाई रु दुई हजार प्रोत्साहन भत्ता दिइने निर्णय गरेको छ । 

कैलालीको लम्कीचुहा, धनगढी महानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका लगायतका क्षेत्रमा जनप्रतिनिधिले सोमबार पदभारसमेत ग्रहण गरेका छन् । केही पालिकामा भने आज पदभार ग्रहण गर्ने कार्यक्रम छ । लम्कीचुहामा प्रमुख र उपप्रमुख दुबै पदमा महिला निर्वाचित हुनुभएको छ ।

 लम्कीचुहा नगरपालिकाका प्रमुख सुुशीला शाहीले पदभार ग्रहण गर्दै तीन वटा निर्णय गर्नुभएको छ ।  आर्थिक वर्ष २०७९÷८० भित्र सुकुम्वासीलाई लालपूर्जा वितरण गरिसक्ने, नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्ग र नगरका विभिन्न चोकमा सडक बत्तीसहित सिसी क्यामेरा जडान गर्ने र छोरीको महत्व बढाउन नगरभित्र छोरी जन्मिएमा प्रोत्साहनस्वरुप रु दुई हजार  भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ । 

पदभार ग्रहणपछि बोल्दै शाहीले नगरपालिकालाई भ्रष्टचारमुक्त पालिका बनाउने गरी काम गर्ने बताउनुभयो । कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुख दुबै पदमा महिला भएकाले यो पालिकालाई सबैले महत्वका साथ हेरेका छन् । लम्कीचुहामा प्रमुखमा नेपाली कांग्रेसबाट शाही र उपप्रमुखमा नेकपा एमालेका जुना शाही विजयी हुनुभएको छ । 
धनगढी उपमहानगरपालिका नवनिर्वाचित प्रमुख गोपाल हमालले धनगढीको पञ्चवर्षीय आवधिक योजना निर्माणसम्बन्धी प्रस्ताव सदर गर्दै पदभार सम्हाल्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गर्नुभएको फाइलमा हस्ताक्षर गर्दै पञ्चवर्षीय आवधिक योजना निर्माणसम्बन्धी प्रस्ताव सदर गर्नुभएको हो । 

हमाल समक्ष प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गर्नुभएको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७९÷८० देखि २०८३÷८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने उल्लेख छ । 
पदभार ग्रहणपछि प्रमुख हमालले धनगढीको विकासका लागि योजनाबद्व रूपमा काम थाल्ने उद्देश्यले पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

कैलालीको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले टीकापुरको विकासका लागि ३ वटा निर्णय गर्नुभएको छ । थारुले टीकापुर नगरपालिकालाई ‘‘हरियो बगैचाको शहर’’का रुपमा विकास गर्ने, शिक्षा क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य र गुणस्तरीय रुपमा विकास गर्न विशेष कार्यक्रमसहित अनुगमनमा जोड दिने र टीकापुर नगरपालिकाभित्र यातायात सञ्चालन तथा आवागमनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न चक्रपथ निर्माण कार्यलाई विशेष जोड दिई अगाडि बढाउने गरी काम गरिने निर्णय गर्नुभएको छ । 

‘‘टीकापुरमा संयुक्त जनादेश आएको छ । सबै पार्टीका प्रतिनिधि चुनिएर आएका छौँ, टीकापुरलाई सबैको समान सहर बनाउन प्रयत्नशील रहनेछु’’, थारुले भन्नुभयो, ‘‘टीकापुर सबैको सहर बन्नुपर्छ । म सबैको नगर प्रमुख भएर जिम्मेवारी निर्वाह गर्नेछु ।’’

त्यस्तै भजनी नगरपालिकामा पनि जनप्रतिनिधिले पदबहाली गरेका छन् । पदबहाली गर्दै नगरप्रमुख केवल चौधरीले भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने र एकीकृत सम्पत्ती कर एवं विभिन्न सिफारिस दस्तुरमा परिमार्जन गरी सहुलियतपूर्ण बनाउने निर्णय गर्नुभएको छ ।

मङ्गलबार १० जेठ २०७९ ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया