×

३० वर्षे सेवावधि हट्ने सम्भावना न्यून

images

काठमाडौं । फागुन २६ गते गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका र बुधबार दज्र्यानी चिह्न लगाएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सँग प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘तपाईंहरूमध्येबाटै एकजना आगामी प्रहरी महानिरीक्षक (आइजिपी) बन्नुहुनेछ।’

गृहमन्त्रीको जिम्मेवारीमा समेत रहेका दाहाललाई भेट्न बुधबार आइजिपी धीरजप्रताप सिंहसहित पाँच नयाँ एआइजी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए। गृहको बढुवा समितिले गरेको सिफारिसका आधारमा सोमबार (चैत ६ गते) बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा रिक्त पाँच दरबन्दीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गरेको थियो।

नयाँ एआइजीलाई आइजिपी सिंहले बुधबार दज्र्यानी चिह्न लगाइदिएका थिए। त्यसलगत्तै पाँचैजनालाई लिएर आइजिपी सिंह सिंहदरबार गएका थिए। सोही क्रममा नयाँ एआइजीहरूलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले पाँचजनामध्येबाटै मुलुकले आगामी आइजिपी पाउने अभिव्यक्ति दिएको स्रोतको भनाइ छ। ‘आइजिपी साबले असल परम्पराअनुसार नयाँ बढुवा भएका एआइजीहरूलाई प्रधानमन्त्री, मुख्यसचिव, गृहसचिवलगायतसँग चिनजान गराउन सिंहदरबार लैजानुभएको थियो,’ स्रोतले भन्यो, ‘सोही भेटमा नयाँ बढुवा भएका एआइजीहरूलाई बधाई तथा शुभकामना दिँदै पाँचजनामध्येबाटै आगामी आइजिपी हुने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीले सुझाउनुभएको छ।’ भेटका क्रममा दाहालले यसपालिको एआइजी बढुवामा वरीयता नमिचिएको र बढुवा निर्विवाद बनेको भन्दै खुसी पनि व्यक्त गरेका थिए।

यस्तै सुशासन र समृद्धिका लागि काम गर्दै प्रहरी संगठन र सरकारको छवि उच्च बनाउँदै जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउनेगरी काम गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन्।

आइजिपी सिंह प्रहरी नियमावली २०७१ संशोधन गराएर त्यसमा रहेको ३० वर्षे सेवावधि हटाउँदै आफ्नो कार्यकाल लम्ब्याउने अभ्यासमा थिए। नियमावलीको नियम १२७ (घ) मा प्रहरी कर्मचारीको अधिकतम सेवावधि ३० वर्ष रहने प्रावधान छ। प्रधानमन्त्री दाहालले नै प्रस्ट रूपमा आगामी आइजिपी पाँचजना नयाँ एआइजीमध्येबाटै हुने भनेपछि आइजिपी सिंहको कार्यकाल निरन्तर रहने सम्भावना कम भएको स्रोतको दाबी छ। नागरिक दैनिकबाट

शुक्रबार​ १० चैत २०७९ ०७:५६ AM मा प्रकाशित

प्रतिक्रिया