×

वामपन्थी र कम्युनिस्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्दछ -प्रचण्ड

images

काठमाडौँ - नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुंगा जिल्ला कमिटीलाई सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा स्वागत गर्दै संयोजक दाहालले मुलुकमा विद्यमान सङ्कटको समाधान गर्न आफ्नो पार्टी सक्षम रहेकाले निर्वाचनमा जनताले फेरि पनि एक नम्बरको पार्टीका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशलाई माया गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी रहेको जनतालाई बुझाउन सकेमा देशको पहिलो पार्टी बन्ने बताए ।

देशलाई सङ्कटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै प्रचण्डले त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको एकता जरुरी रहेको बताए । 

‘हामी सबैका लागि राष्ट्रभन्दा ठूलो अरू केही पनि छैन। राष्ट्र सङ्कटमा छ। नेपाली जनताको एकताले मात्रै मात्रमै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ,’ उनले भने, ‘वामपन्थी र कम्युनिस्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्दछ। अरू लोकतन्त्रवादीहरू पनि यो मोर्चामा आबद्ध हुन जरुरी छ । प्रतिक्रियावादीहरूको चलखेल रोक्ने एकमात्रै उपाय भनेको हामीबीचको एकता हो ।’

उनले मुलुकलाई सङ्कटबाट जोगाउनका लागि एकता अभियानलाई तिब्रता दिएको उनले बताए । मुलुकमा प्रतिक्रियावादीको चलखेललाई रोक्न पनि सबै देशभक्तले एकतावद्ध भएर अघि बढनुपर्नेमा उनले जोड दिए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुंगा जिल्ला कमिटी सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको हो । यहाँ शुक्रबार आयोजित कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवाललगायतका पदाधिकारी तथा नेता कार्यकर्तासहित ३८ जना नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।

पार्टी नेतृत्वले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्ला कमिटीको सिफारिस अवज्ञा गर्दै उम्मेदवार चयन गरेका कारण उनीहरूले पार्टी परित्याग गरी नेकपामा समाहित भएको घोषणा गरेका हुन् ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट पार्टीको मूलधार भएको जनताले बुझेको दाबी गर्दै पार्टीले अवलम्बन गरेको समाजवादी विचार देशैभरि पुर्‍याएर लैजानुपर्नेमा जोड दिए ।

शुक्रबार​ १० माघ २०८२ ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया