काठमाडौं । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीमा रहेको बाल सुधारगृहमा दुई पक्षबीचमा मध्यराति झडप भएको छ । झडपपछि आक्रोशित भएको समूहले सुधारगृहमा तोडफोड र आगजनीसमेत गरेका छन् । झडप र आगजनीका कारण प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप सुरक्षाकर्मीको सहायता माग गरेको थियो ।
दुई समूहबीच झडप हुँदा नियन्त्रणकाका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचाल गरिए पनि प्रहरी माथि नै ढुङ्गा प्रहार भएको थियो । सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो र आगो नियन्त्रकका लागि मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्र परिचालन गरिएको थियो । सो सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अवस्था सामान्य बन्दै गएपनि सुरक्षाका लागि भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
स्थिति फेरि भड्किनसक्ने अनुमानमा प्रहरीहरुको तैनाथी बढाइएको छ । झडपको जानकारी पाएपछि गएराति नै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेको थियो । सो टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सकेन । झडपमा संलग्न बालसुधार गृहका दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बन्यो ।
स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको थियो । आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो । सुधारगृहमा झडप, तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बाल सुधारगृहमा हिजो राति झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई काठमाडौं र भक्तपुरका विभिन्न प्रहरी हिरासतका बाल निगरानी कक्षमा राखिने प्रहरीले जनाएको छ । झडपपछि भएको आगजनी र तोडफोडपछि सुधारगृहभित्रका सबै संरचनामा क्षति पुगेका कारण बस्न सक्ने अवस्था नरहेपछि केही समयका लागि उनीहरुलाई सारिएको हो ।
झडपमा ८ जना बालबिज्याइँकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । गएराति पौने १० बजेदेखि भएको झडपमा २० जना प्रहरीसमेत घाइते भएका छन् । नेपाल कोरिया मैैत्री नगरपालिका अस्पतालमा उपचार गराएका ७ जना डिस्चार्ज भएका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केही बालबिज्याइँकर्ताले कुटपिट गरी घाइते बनाएर सुधारगृह तोडफोड गरी आगजनी गरेका थिए । गएराति नै दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधारगृहभित्रबाटै प्रहरीमाथि ढुंगामुडा भएको थियो ।
प्रतिक्रिया